गैँडाकोट – गएराति गैँडाकोटमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार दुर्घटनामा रुपन्देही भैरहवाका ३५ वर्षीय पंकज ज्ञवालीको मृत्यु भएको हो।
ज्ञवाली कृषि अनुसन्धान परिषद (नार्क) मा प्राविधिक अधिकृतका रूपमा कार्यरत थिए। उनी सवार बुलेट मोटरसाइकल कालीगण्डकी कोरिडोर हुँदै महेन्द्रराजमार्गतर्फ आउँदै गर्दा राति साढे ११ बजे दुर्घटनामा परेको थियो।
दुर्घटनामा लमजुङका सुकबहादुर गुरुङ गम्भीर घाइते भएका छन्। गुरुङको उपचार चितवनस्थित पुरानो मेडिकल कलेजमा भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।