प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : जिरी र रुबी भ्यालीलाई गौरवको योजनादेखि खेलाडीलाई प्रोत्साहन भत्तासम्म

२०७९ आश्विन ७, शुक्रबार ०३:४३ बजे

मकवानपुर – बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरी र धादिङको रुबी भ्याली क्षेत्रलाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गरेको छ ।

बिहीबार बसेको बैठकले जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । उनका अनुसार कूल एक अर्ब रुपैयाँ खर्च अनुमान गरिएको सो ताल निर्माणका लागि चालु आर्थिक वर्षमा १५ करोड प्रदेश सरकारले विनियोजन गरिसकेको छ ।

त्यस्तै मानव स्रोतसाधन सूचकमा कमजोर रहेको धादिङ जिल्लाको रुबी भ्यालीलाई पनि प्रदेश गौरवको योजनामा समावेश गरी एकीकृत विकास परियोजनाअन्तर्गत काम अघि बढाउने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको मातहतमा रहने गरी स्थापना गर्न लागिएको विज्ञान प्रविधि विश्वविद्यालयका लागि जग्गा छनोट गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव संयोजक रहनेगरी कार्यदल गठन गर्ने निर्णय भएको हो । सो कार्यदलको सदस्यमा क्रमशः भौतिक पूर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, सदस्य रहने छन् ।

प्रदेश सरकारले अब ५० लाखसम्मको काम उपभोक्ता समितिबाट गराउने निर्णय गर्नुका साथै पर्यटन व्यवसायीलाई उकास्न प्रोत्साहन कार्यक्रम अघि सार्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय खेल घोषणा भएका जुनसुकै खेलमा स्वर्ण पदक पाउने खेलाडीलाई प्रदेश सरकारको तर्फबाट प्रोत्साहन भत्ता उपलब्ध गराउने पनि निर्णय गरेको प्रवक्ता खनालले जानकारी दिए ।