हेटौंडा – पाँचौं संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आज बिहिबारबाट क्वाटरफाइलका खेल सुरु हुँदैछ ।
बुधबार हिमालयन शेर्पा र बागमती युवा क्लबबीचको खेल भएसंगै प्रतियोगिताको प्रिक्वाटरफाइनल चरण सकिएको थियो ।
क्वाटरफाइनल चरणको पहिलो खेलमा आज क्यामरुनको एभिनियर एफसी र वीरगञ्ज युनाईटेड पर्साबीच खेल हुँदैछ। पिप्ले–क्याम्पा रंगशालामा हुने खेल साँझ ०३:०० बजे सुरू हुनेछ।
भोली शुक्रबार साविक विजेता त्रिभुवन आर्मी र शसस्त्र प्रहरी बल(एपिएफ) क्लबबीच खेल हुनेछ । एपिएफले सातदोबाटो क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
उद्घाटन खेलमा नव जनजागृती युवा क्लबलाई पराजित गरेको आयोजक टोली मकवानपुर–११ ले फागुन ५ गते शनिबार मनाङ्ग मस्याङ्दी क्लबको सामना गर्नेछ ।
त्यस्तै चौथो तथा अन्तिम फागुन ६ गते क्वाटरफाइनल खेल हिमालयन शेर्पा र फ्रेण्डस् क्लबबीच हुनेछ ।
एभिनियर एफसी, त्रिभुवन आर्मी, मनाङ्ग मस्याङ्दी र फ्रेण्डस् क्लब सिधै प्रतियोगिताको अन्तिम आठमा स्थान पाएको थियो ।
खेलमा विजयी हुने टोलीले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको सेमिफाइनल फागुन ७ र ८ गते हुनेछ भने फाइनल खेल फागुन १० गते हुनेछ ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ । उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।