हेटौंडा – विद्युतीय राहदानी(इ–पासपोर्ट) र राष्ट्रिय परिचयपत्रको लागि अब आफ्नै स्थानिय तहबाटै विवरण भर्न सकिने भएको छ । अनलाइनबाट यस्तो सुविधा मकवानपुरको १० वटै पालिकाबाट सुरु गरिने मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
जिल्ला प्रशासन कार्यालय(जिप्रका) मकवानपुरको निर्णय अनुसार जिल्लाको दशवटै स्थानिय तहबाट विद्युतीय राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाईन फारम भर्ने ब्यवस्था यही असार २४ गते शुक्रबार(भोली)बाट सुरु गरिने सहायक सिडिओ गैह्रेले बताए । उनले फारम भर्न कुनै शुल्क समेत नलाग्ने जानकारी दिए ।
अब ई-पासपोर्ट र राष्ट्रिय परिचयपत्रको लागि जिल्ला प्रशासन कार्यालयसम्म धाउनु पर्ने बाध्यता हटेको छ । ईन्टरनेटको पहुँच भएकाहरुले घरबाटै फारम भर्न सकिने र पहुँच नभएकाहरुले आफ्नै पालिका कार्यालयमा गएर सहजै भर्न सकिने सिडिओ गैह्रेले बताए । उनका अनुसार विद्युतीय राहदानीको लागि अनलाइन अप्वाइन्टमेन्ट बुक गर्न प्रत्येक शुक्रबार बिहान १० बजेबाट खुल्ला हुनेछ ।
यसअघि इ–पासपोर्टको लागि फारम भर्नेको भीडभाड बढेको र साईबरहरुले मनलग्दी पैसा लिएरको गुनासो आएको थियो । जिल्लामा इ–पासपोर्टको लागि दैनिक ९० जना र सातामा ५४० जनाले फारम भर्न सक्नेछन् । यही असार २१ गते जिल्ला प्रशासन कार्यालयमा १० वटै पालिकाका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको बैठकले उक्त निर्णय गरेको थियो ।