काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरल बनाइदिन नेपाल राष्ट्र बैकसँग आग्रह गरेका छन्।
केन्द्रीय बैकका गर्भनर डा विश्वनाथ पौडेलसँगको आइतबार भएको छलफलमा मन्त्री अधिकारीले साना किसानले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधान आवश्यक रहेको बताए।
‘कृषि ऋणको सही उपयोग भयो कि भएन यसको प्रभावकारी अनुगमनका लागि म नेपाल राष्ट्र बैक समक्ष अनुरोध गर्दछु’,मन्त्री अधिकारीले भने।
मन्त्री अधिकारीले कसैले ऋण नपाउने पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिए। सरकारी स्वामित्वका बैंकहरूले पनि कृषि कर्जा बढाउनुपर्ने बताए।
नेपाल राष्ट्र बैंकका गर्भनर पौडेलले कृषिमा भएको लगानीको सदुपयोग हुन नसकिरहेको सन्दर्भ आफ्नो पनि चासोको विषय भएको बताए।
उनले किसानलाई व्यावसायिक नबनाएसम्म कृषिमा भएको लगानीको प्रतिफल प्राप्त हुन नसक्ने तर्क गरे।
उनले आफू हालै विभिन्न जिल्लामा जाँदा माटो खेलाउनेले कृषि ऋण नपाउने, र कागज खेलाउनेले पाउने गरेको गुनासो पनि सुनेको बताए।