प्रहर खबर
 २०८३ श्रावण ६, बुधवार    

पहिलेको दृष्टि बन्धकी राजिनामा पास, सुनारलाई शाक्यले गरे विश्वास घात

२०७९ श्रावण १२, बिहीबार १५:१८ बजे

हेटौंडा – भनिन्छ नि ! संसार विश्वासले अडिएको छ । त्यही विश्वास हेटौंडा उपमहानगरपालिका वडा नं.१३ का जगतबहादुर सुनारले हेटौंडा उपमहानगरपालिका वडा नं. ३ बस्ने नियमराज शाक्यमाथी थियो । तर, जगतबहादुर सुनारले गरेको त्यो विश्वासमाथि ‘घात’ थपिएको छ ।

यो कुरा आज भन्दा २५ बर्ष अगाडिको हो । जगतबहादुर सुनार सुनका गरगहना बनाउने काम गर्थे । लामो समय अर्कैको पसलमा सुनका काम गरेपछि उनले हेटौंडास्थित नियमराज शाक्यको घरमा कोठा भाडामा लिएर पसल सञ्चालन गरे । घरमै पसल राखेको भएर शाक्य र सुनारबीच पारिवारीक सम्बन्ध थियो ।

पसल सञ्चालनकै क्रममा सुनारलाई पैसाको खाँचो पर्यो । त्यो कुरा घर साहु शाक्यलाई सुनाए । शाक्यले तिम्रो जाएजेथा जे छ, त्यो धितो राखेर पाँच रुपैयाँको दरले ब्याज दिने भए आफू पैसा दिन तयार रहेको बताए ।

वि.सं.२०५६ साल बैशाख १९ गते आफ्नो लालबहादुर सुनारको नाममा रहेको ११ कठ्ठा १६ धुर जग्गा (साविक पदमपोखरी गा.वि.स. वडा नं.२ हाल हेटौंडा–१३) धितो अर्थात दृष्ट्रिबन्धक भनेर शाक्यसँग ५० हजार रुपैयाँ ऋण लिए ।

सुनार जति आफ्नो बाबुमाथी विश्वास गर्थे, त्यति नै घरबेटी साहु शाक्यमाथि विश्वास गर्थे । त्यतिबेला सुनारले शाक्यको बिश्वासमा दृष्ट्रिबन्धक भनेर तयार पारेको कागजमा औंठाछाप लगाइदिए ।

सुनार लेखपढ गर्न जान्दैनन् । उनको बाबु लालबहादुर पनि लेखपढमा कालो अक्षर भैंसी बराबर नै थिए । उनीहरुले त्यो आफूले औंठाछाप लगाएको कागज पढ्न सक्ने अवस्था थिएन ।

कागजातमा हस्ताक्षर गरेपछि लेखापढी (लेखनदास) ले “हेर जगत तिमीले ५० हजार रुपैयाँ पैसा लिएका छौँ, पछि तिमीले तिम्रो जाएजेथा जे छ त्यो बेचेर भनेपनि तिर्न पर्छ है’ भनेको सुनारले सुनाए । शाक्यमाथीको विश्वास र लेखनदासको बोलीको भरोसामा सुनार बाबुछोरो पैसा लिएर निष्किए ।

समय वित्दै गयो । समयसँगै परिस्थिति पनि । सुनारको सुन ब्यवसायमा उतारचढाब आयो । उनले आफ्नो ब्यवसाय अर्कै स्थानमा सारे । केही महिनाको ब्याज तिरे ।

त्यसपछि भनेको समयमा ऋणको ब्याज समेत तिर्न सकेनन् । उनले ऋण लिएको पाँचपछि २०५९ साल श्रावण १० गते साँवा र ब्याज सहित आफ्नो जग्गा फिर्ता गर्न शाक्यकहाँ पुगे । जब त्यो जग्गा दृष्ट्रिबन्धक नभई राजीनामा पास भइसकेको रहेछ । त्यो कुरा पाँच बर्षपछि सुनारलाई थाहा भयो ।

त्यसपछि शाक्यलाई रकम बुझाउन खोजे, तर साँवा/ब्याज हिसाब गर्दा केही रकम पुगेन । ‘अहिले जति छ त्यति रकम लिनुस्, जग्गा हाम्रो नाममा फिर्ता गरिदिनुस्, जग्गाको लालपुर्जा हजुर नै राख्नु, अनि बाँकी पैसा चुक्ता भएपछि मात्रै लालपुर्जा हामीलाई दिनुस्’ भन्दा शाक्यले सबै साँवा/ब्याज दुबै चुक्ता गरेपछि मात्रै फिर्ता गर्छु भनेपछि जग्गा फिर्ता भएन । बारम्बार आफ्नो जग्गा फिर्ता गर्न साँवा र ब्याज सहित गएपनि शाक्यले विभिन्न बहाना गर्दै फिर्ता गर्न मानेनन् ।

केही समयपछि सुनार फेरि साँवा र ब्याजसहितको रकम लिएर शाक्यलाई भेट्न गए तर, उनलाई भेट भएन । त्यसपछि सुनार काठमाडौं मंगलबजारस्थित शाक्यको घरमै साँवा र ब्याज लिएर पुगे । शाक्यले पैसा लिन मानेनन् । ‘ह्या मोरा म दुई तीन महिनापछि हेटौंडा आउँछु, त्यही बेलामा पैसा दिनु, म जग्गाको लालपुर्जा दिउँला’ शाक्यले आशवासन दिएर आफूलाई हेटौंडा फर्काएको सुनारले सुनाए ।

पटकपटक साँवा र ब्याजसहित ऋण चुक्ता गर्छु भन्दा शाक्यले नमानेपछि उनको बाबु लालबहादुर साहुले जग्गा खाने भयो भन्ने चिन्तामा परे । ‘जग्गा फिर्ता आउने हो की ! होइन ? चिन्ताको चिन्तामै २०६३ सालमा बुवा बित्नुभयो’ सुनारले सुनाए ।

एकतातिर भरखर बाबु वितेको पीडा, उता साहुले जग्गा फिर्ता नदिएको पीडामाथि पीडा । जग्गा फिर्ता पाउने आशमा सुनार पैसा लिएर शाक्यकहाँ पटक पटक पुगे । सुनारको बाबु वित्नु भन्दा अगाडि अलमल्याउने शाक्यको बानी बोलीमा परिणत भयो ।

शाक्यले सुनारलाई भने ‘जग्गा दृष्ट्रि बन्धक होइन, किनेर राखेको हो, किन फिर्ता गर्न आउँछस् ।’ त्यो भनाईले सुनारलाई बज्र परेझै भयो । ‘त्यसपछि केही बोल्न आँट आएन, अब यसले मेरो जग्गा खाने नै भयो’ सुनारले सुनाए । त्यति मात्र होइन, जग्गा फेरि माग्न आए, ज्यान मार्ने धम्की समेत दिएको उनको उनको भनाई छ ।

त्यसपछि सुनारले गाउँ समाजका मान्नेगुन्ने समक्ष आफ्नो कुरा राखे । उनीहरुलाई शाक्यलाई आफ्नो पैसा लिएर जग्गा फिर्ता गर्न आग्रह गर्दा उनले टेरपुच्छार लगाएनन् । उक्त जग्गा सुनारका परिवारले २०२२ सालदेखि भोगचलन गर्दै आएको जग्गा हो ।

सुनार आफ्नो जग्गा फिर्ता गर्न विभिन्न सरोकारवाला निकाय धाए । २५ बर्ष भयो जग्गा बन्धकी भनेको जग्गा शाक्यले राजिनामा लिखत भएको । हेटौंडा उपमहानगरपालिकाले अध्ययन गर्दा शाक्यले जालसाझी गरेको भन्दै आफुले दिएको ऋण र ब्याज बापतको रकम लिएर जग्गा फिर्ता गर्न भनेको सुनारले सुनाए । त्यसबेला ‘कुरा पोजेटिभ छ, म जगतबहादुरलाई घरमै बोलाएर कुरा गर्छु’ भनेर हिडेका शाक्यको अत्तोपत्तो छैन ।

उनले शाक्यसँग लिएको ऋणवापतको साँवा ब्याज सबै तिर्न तयार रहेको बताए । ‘म आफुले लिएको ऋणको ब्याजको स्याज पनि तिर्न तयार छु, मलाई मेरो जग्गा फिर्ता दिलाई दिनुपर्यो,’ उनले भने, ‘मैले यति भन्दा पनि न्याय पाईन, मैले न्याए पाउँछु की भनेर मिडियामा आएको हुँ ।’

उनले जिल्ला अदालत मकवानपुरमा शाक्यले जालसाँझी गरेको भन्दै मुद्दा दर्ता गरेका छन् भने हेटौंडा उपमहानगरपालिका मेयर÷उपमेयर र जिल्ला समन्वय समितिका अध्यक्ष समक्ष न्यायको लागि हात फैलाएका छन् । कताबाट हुन्छ उनी न्याय पाइन्छ की भन्ने आशामा छन् ।

तात्कालिन समयमा चतुर धनी (साहु) ले लेखपढ गर्न नसक्ने ऋणीलाई विश्वासमा पारी जग्गा दृष्ट्रिबन्धक भनेर राजीनामा लिखत गर्ने चलन थियो । यस्तो समस्या धेरै आउँने गरेको लेखापढी ब्यवसायीदेखि मालपोतका कर्मचारीरु समेत बताउँछन् ।

लेखापढीको काम गर्दै आएका उदयराज ओलीले दृष्ट्रिबन्धकको नाममा कानूनी रुपमा जग्गा अरुको नाममा गएको भएपनि सुनारको पैतृक सम्पत्तिमा हक रहेकोले सुनारले न्याय पाउनुपर्ने बताए । छिमेकी सानु लामा र मनमाया गुरुङ पनि शाक्यबाट सुनारमाथि विश्वासघात भएकोले पीडितलाई न्याय दिलाउन आग्रह गरे ।

यस बिषयमा बुझन बारम्बार शाक्यलाई सम्पर्क गर्दा पनि उनको फोन उठेन । थप बुझ्न विभिन्न सञ्चारमाध्यका प्रतिनिधिले फोन गर्दा समेत सम्पर्क नभएको जानकारी प्राप्त भएको छ । यस विषयमा शाक्य किन प्रतिक्रिया दिन चाहदैनन् ? गम्भीर प्रश्न उठेको छ । यस विषयमा सरोकारवाला निकाय गम्भीर हुनुपर्ने देखिन्छ ।