प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौँडा–काठमाडौँ छोटो दुरीमा चार पक्की पुल सम्पन्न, दुई निर्माणाधीन

२०८१ पौष २९, सोमबार ०७:४८ बजे

हेटौँडा – मकवानपुर हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्डमा चारवटा पक्की पुल निर्माण सम्पन्न भएका छन्। बागमती प्रदेश सरकारको गौरवको योजना अन्तर्गत जीर्ण फलामे पुललाई प्रतिस्थापन गर्दै नवनिर्मित पक्की पुलले आवागमन सहज बनाएको हो।

निर्माण सम्पन्न पुलहरूमा भीमफेदी गाउँपालिका–६ स्थित मान्डुखोला पुल (५५ मिटर लम्बाइ, १२ करोड ३० लाख ३९ हजार ६१२ रुपैयाँ लागत), निबुवाटार पुल (२५ मिटर लम्बाइ, ३ करोड १३ लाख ५७ हजार २५६ रुपैयाँ लागत), तानसेन पुल (४० मिटर लम्बाइ, ८ करोड ९१ लाख १२ हजार ५ सय रुपैयाँ लागत) र ढोकाफेदी पुल (३० मिटर लम्बाइ, ३ करोड १४ लाख रुपैयाँ लागत) समावेश छन्। सबै पुल फुटपाथसहित दोहोरो लेनका छन्। 

निर्माणाधीन र प्रस्तावित परियोजना
भीमफेदी–कुलेखानी सडकखण्डमा सात वटा पक्की पुल निर्माण योजनामध्ये गोल्पिङ पुल (२६ मिटर) अन्तिम चरणमा छ भने चिसापानी पुल चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा परेको छ। महालक्ष्मी खोलामा १५ मिटर लम्बाइको नयाँ पुल ४ करोड २० लाख रुपैयाँको लागतमा निर्माणाधीन छ।

निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलका अनुसार यी पुलहरूले हेटौँडा–काठमाडौँ छोटो दुरीको सडकमा यात्रा थप सुरक्षित र सहज बनाउनेछन्। "पुराना फलामे पुलहरूको स्थानमा नयाँ पक्की पुल निर्माणले सडकको स्तरोन्नतिमा ठूलो योगदान पुग्नेछ," उनले बताए।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।