प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको यूनिलिभरमा स्थानीयहरुले दिए धर्ना

२०८१ श्रावण ११, शुक्रबार १८:४५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.३ मा रहेको यूनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना स्थानीयहरुलाई प्राथामिकता नदिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । स्थानीयहरुले आफ्नो योग्यता अनुसारको रोजगारी पाउनु पर्ने भन्दै विगत तीन दिनदेखि उद्योगको गेटमा धर्ना दिदै आईरहेका छन् ।

उद्योगले सुचना जारी नगरी गुपचुप शैलीमा कर्मचारी तथा कामदार भर्ना गरेको स्थानीय विजन लटौलाले बताउँछन् । “मेरो घरको आँगनमै यूनिलिभर पर्छ तर, उद्योगलाई कर्मचारी आवश्यकता परेको मैले थाहा पाइन्, वडा नम्बर ३ बासीले थाहा दिइएन” लटौलाले भने ।

कर्मचारी भर्नाको लागि केही स्थानीयले दिएको आवेदन नै फिर्ता भएको गुनासो आएको धर्ना सहभागी भएका स्थानीय सुदिप कार्कीले सुनाए । घनाबस्तिको बीच र पूर्वपश्चिम राजमार्गको किनारमै उद्योग छ । यही उद्योगको कारण खोलानाला, बायू प्रदुषण, खोती योग्य जमिनको उत्पादन क्षमतामा ह्रासदेखि उद्योगमा आउने मालबाहक ट्रक सडक किनारमा पार्किङ्ग गर्दा सडक दुर्घटना बढ्दै गएको स्थानीयहरु बताउँछन् ।

स्थानीयहरुले आफुहरुको माग पुरा नभए दैनिक उद्योग घेराउ गर्ने र उत्पादन समेत रोक्ने चेतावानी दिएका छन् । स्थानीयहरुको आन्दोलनलाई सोही वडाका वडाअध्यक्ष ढलक बहादु थापाले पनि साथ दिएका छन् । उनले स्थानीयहरुको माग पुरा गर्न आफु समन्वय गर्ने बताए । उद्यागले गर्नुपर्ने सामाजिक उत्तरदायित्वको काम प्रयाप्त नदेखिएकोले स्थानीय प्रशासकहरुसंग बसेर छलफल गर्ने पनि बताए ।

यस बिषयमा उद्योगका जिम्मेवार पदमा रहेका प्रतिनिधि तथा कर्मचारीहरुले कुनै प्रतिक्रिया नै दिन चाहेनन् । सम्पर्क गर्दा फोन नै काटिदिए ।