हेटौंडा – हिमालयन राइडर्स सोसाइटी मकवानपुरले हेटौंडामा पहिलो पटक १६ वर्ष मुनिका साइकलचालकबीच प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मकवानपुरभित्र स्थायी बसोबास गर्ने, १० वर्षदेखि १६ वर्ष उमेरसमूहका बालबालिकाबीचमा प्रतियोगिता आयोजना गरिने सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतियोगिताका बिजेता खेलाडीले नगद, कप, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रथम हुनेले ५ हजार रुपैयाँ, दोस्रो हुनेले ३ हजार रुपैयाँ, तेस्रो हुनेले २ हजार रुपैयाँ नगद पाउने सोसाइटीका अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगिताका सहभागी हुन चाहने साइकलचालकले हरिकुञ्ज रोडस्थित सोसाइटीको कार्यालयमा २ सय रुपैयाँ शुल्क तिरेर नाम दर्ता गराउन सक्ने ब्यवस्था गरिएको थियो । शुक्रबार साँझसम्ममा २५ जनाले प्रतियोगिताका लागि नाम दर्ता गराएका छन् ।
सोसाइटीका सदस्यहरुले ब्यक्तिगत लगानीबाट प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ । सोसाइटीले स्वास्थ्य र पर्यावरणका लागि साइकल प्रयोग गर्न प्रेरित गर्दै आएको छ । सोसाइटीको स्थापना भएको ३ वर्ष भएको छ ।
सोसाइटीले संयोजन गरेर रसुवागढी (तिब्बतको केरुङ नाका) देखि पर्साको ठोरी नाकासम्म १० जनाले उत्तरदक्षिण साइकलयात्रा, १३ जनाको सहमागितामा मेचि–महाकाली साइकलयात्रा सम्पन्न गरिसकेको छ । सोसाइटीले हरेक वर्ष कोरा च्यालेन्ज, हरेक शनिबार फन राइड (साइकलयात्रा) गर्दै आएको छ ।