हेटौंडा – जन्मतिथिकै दिन गायक शिव परियार सम्मानित भएको छन् । फागुन शुल्क नवमी तिथिमा जन्मिएका गायक परियार हेटौंडामा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले “भीम विराग युवा सगीत पुरस्कार”बाट सम्मानित गरेको हो ।
भीम विरागको १० औं स्मृती दिवसको अवसरमा शनिबार हेटौंडामा आयोजित विशेष समारोहबीच गायक परियारलाई नगद २५ हजार सहित सम्मान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्य र वरिष्ठ साहित्यकार एल.बि. क्षेत्रीले उक्त राशिको पुरस्कारसहित गायक परियारलाई सम्मानित गरेका हुन् ।
पुरस्कार ग्रहण गर्दै गायक परियारले आफुले पाएको पुरस्कारबाट १५ हजार मानव सेवा आश्रमलाई गर्ने बताएका छन् । उनले पुरस्कार प्रदान गर्ने प्रतिष्ठानप्रति हार्दिक आभार समेत ब्यक्त गरे ।
गायक परियार सर्लाहीमा जन्मेका नेपाली गायक हुन । करिब दुइ दसकदेखि शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेका परियारका ’कादम्बिनी’, ’क्या दामी’ लगायतका एल्बम दर्शक दर्शकहरुको पहिलो रोजाइमा पर्छ ।
हेटौडाका समाजसेवी निरा गोर्खालीको व्यव्थापनमा उक्त पुरस्कार प्रदान गरिएको हो । गत वर्ष उक्त पुरस्कार पोखराको महिलाहरुले मात्र संचालन गरेको हार्माेनिक सांगीतिक समूहलाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै प्रतिष्ठानले प्रत्येक बर्ष प्रदान गर्दै आएको एक लाख राशिको बिजुलीमाया वनः अन्तराष्ट्रिय संगीत पुरस्कार–२०७८ बाट नेपालका वरिष्ठ संगीतकार तथा गीतकार दीपक जङ्गम सम्मानित भएका छन् । नेपाली सांगितिक क्षेत्रमा पाँच दशक भन्दाबढी योगदान पुर्याएका जंगमले चार हजारभन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा स्वर दिएका छन् ।