प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशमा लम्पी स्कीनको खोप अभियान सुरु, ५० हजार खोप लगाइने

२०८० श्रावण २६, शुक्रबार ०३:२४ बजे

हेटौंडा – बागमती प्रदेशको १३ वटै जिल्लाहरुमा बिहीबारबाट लम्पी स्कीन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत पहिलो दिन ४ हजार ४६७ गाईभैसीमा रोग विरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी चितवनमा १ हजार १६ गाईभैसीमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए । उनका अनुसार अभियान अन्तर्गत मकवानपुरमा ७२४ पशुहरुमा खोप लगाइएको छ भने सिन्धुपाल्चोकमा २७५, रामेछापमा २४२, रसुवा ७५, नुवाकोट १९८, काभ्रेमा ६९८, धादिङमा १८१, भक्तपुरमा २०७, ललितपुरमा ११९, काठमाडौं ३७९ र सिन्धुलीमा ३५३ पशुमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइएको छ ।

दोलखामा भने खोप अभियान अन्तर्गत खोप लगाउने कार्यक्रम सुरु भएको छैन । खोप अभियान अन्तर्गत ५० हजार पशुमा लम्पी स्कीन रोग विरुद्धको खोप लगाइने उनले बताए । प्रदेशका सम्बन्धीत जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाटसुरु गरिएको खोप अभियान साउन ३२ गतेसम्म संचालन हुने सूचना अधिकारी अधिकारीले बताए ।

प्रदेशमा १० लाख ९९ हजार ५६० गाई र ८ लाख ९६ हजार २१३ भैँसी रहेको र वार्षिक ४ लाख ५५ हजार १४१ मेट्रिक टन दूध उत्पादन हुने गरेको र लम्पी स्किन रोगको संक्रमणका कारण गाईभैंसी प्रभावित भई दूध उत्पादनमा ८० प्रतिशतसम्म कमी आउने गरेको उनले बताए ।

लम्पी स्किन रोगबाट बागमती प्रदेशका १३ जिल्लामा ६ हजार २९१ गाईभैंसीको मृत्यु भएको छ भने १ लाख १० हजार ४४० संक्रमित भएका छन् । रोगबाट १३ जिल्लाका २ लाख ४ हजार ९८८ पशु प्रभावित भएका छन् ।रातोपाटीबाट