प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौँडा अस्पतालमा निःशुल्क औषधिको अभाव

२०८० श्रावण १, सोमबार ०३:०१ बजे

हेटौँडा – हेटौँडा अस्पतालमा निःशुल्क औषधिको अभाव रहेको छ । सरकारी अस्पताल, स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट सर्वसाधारणले सरकारले तोकेअनुसारका ९८ प्रकारका औषधि पाउन मुस्किल हुन्छ । केही दिनअघि हेटौँडा अस्पतालको अनुगमनमा पुगेका स्वास्थ्यमन्त्री मोहन बस्नेतसँग बिरामीले निःशुल्क औषधि नपाएको गुनासो गरेका थिए ।

हेटौँडा अस्पतालका फार्मेसी इन्चार्ज कौशलकुमार गुप्ताले सरकारले तोकेअनुसार ९८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने भए पनि आपूर्तिमा समस्या हुने गरेकाले वेलावेला अभाव हुने गरेको बताए । ‘हामीकहाँ जति औषधि छ, त्यति मात्र बिरामीलाई दिने हो । कहिलेकाहीँ मागेअनुसारको औषधि उपलब्ध हुँदैन,’ गुप्ताले भने । तर, अहिले कुन–कुन औषधिको अभाव छ भनेर उनले खुलाउन चाहेनन् ।

तर, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका कामु निर्देशक वसन्त अधिकारीले हेटौँडासहित कुनै पनि अस्पतालमा औषधिको अभाव नरहेको जिकिर गरे । ९८ प्रकारका नभई ५५ प्रकारका औषधि मात्रै आफूहरूले आपूर्ति गर्ने गरेको उनले सुनाए । नयाँ पत्रिका दैनिकबाट