उर्लाबारी – प्रदेश नं.१ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री एवं मोरङ ३ (क) मा नेपाली काङ्ग्रेसका प्रत्यक्ष उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । बुधबार नोबेल मेडिकल कलेज शिक्षण बुधबार बिहान १०ः४० बजेतिर थापाको निधन भएको हो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखुवराका स्थायी घर भएका ५८ वर्षीय थापा असोज २३ गते मनोनयन दर्ता गरे लगत्तै बिरामी पर्नुभएको थियो । डेंगु सङ्क्रमण पुष्टि भएपछि नोबेलमै उपचार गराइरहेका थापालाई निमोनिया र पायल्स देखिएपछि थप उपचारका लागि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो ।
२५ दिनपछिको उपचारपछि स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको थियो । थापालाई सोमबार विराटनगर ल्याइएको उनका स्वकीय सचिव रोशन पराजुलीले बताए । पराजुलीका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि गत सोमबार पुनः नोबेलमा भर्ना गरिएको थियो ।
मोरङको पथरीशनिश्चरे ८ स्थित बुद्ध माध्यमिक विद्यालयमा २०४२ सालदेखि अध्यापन गराउनुभएका थापा २०४६ सालमा बहुदल आएपछि पहिलो पटक तत्कालीन मोरङ २ मा पार्टीको क्षेत्रीय सभापति बनेका थिए ।