काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आज सोमबार शपथ ग्रहण गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उनिहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिए । प्रधानमन्त्रीमा दाहालले शपथ लिएपछि उपप्रधानमन्त्री सहित सात जना मन्त्रीहरूले पनि शपथ लिएका छन् । राष्ट्रपति भण्डारीसमक्ष उपप्रधानमन्त्रीसहित अर्थमा विष्णु पौडेल, उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिएका छन् ।
त्यस्तै, विनाविभागीय मन्त्रीहरूमा दामोदर भण्डारी, ज्वालाकुमारी साह, राजेन्द्र राई र अब्दुल खाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शपथ लिएका आठ सदस्यीय मन्त्रिपरिषदमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित एक उपप्रधानमन्त्री गरी दुई जना, नेकपा (एमाले) बाट एक उपप्रधानमन्त्रीसहित चार मन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्रीसहित गृहमन्त्री र जनमत पार्टीबाट अब्दुल खाँले शपथ लिएका छन् ।