प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर पहिरो : थप एक शव फेला

२०८० श्रावण २५, बिहीबार ०२:१० बजे

हेटौंडा – मकवानपुरको बागमती गाउँपालिका वडा नं.५ सिक्रे दोभान पहिरोमा परी बेपत्ता भएका मध्ये थप एक शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार बुधबार साँझ पौने ७ बजे करिव ७/८ महिनाकी दिब्या पहरी मृत अवस्थामा फेला परेकी हुन् ।

घटना भएको स्थानबाट केही किलोमिटर तल सिन्धुली हरिहरपुर गाउँपालिका वडा नं.३ बनौलिस्थित बागमती खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । मुचुल्का कार्य पुरा गरी शवलाई हेटौंडा अस्पताल ल्याईएको उनले बताए ।

बुधबार विहान छोरी २२ बर्षीया शिला पहरी र दिउँसो ६० बर्षीय अक्कल बहादुर स्याङ्तानको शव सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नं.१ कोकरेस्थित बागमती नदिको बिच बगरमा भेटिएको थियो । त्यस्तै सिन्धुली हरिहरपुर गाउँपालिका वडा नं.१ कोकटी बस्ने १७ बर्षीय पासाङ घिसिङलाई मंगलबार साँझ ७ बजे बागमती खोलाको किनारबाट प्रहरीले जिवितै उद्धार गरेको थियो ।

त्यसैगरी अक्कल बहादुरको श्रीमती ५५ बर्षीया सन्तमाया स्याङ्तानको पहिरोमा परेको केही बेरमै उद्धार गरिएपनि बचाउन भने सकिएन । चिन्ताजनक अवस्थामा उद्धार गरिएको उनको स्थानिय मेडिकलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

अझै अक्कल बहदुरका ज्वाई २५ बर्षीय जिबन पहरी र नाती ४ बर्षीय मिलन पहरी बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रेदोभानस्थित मृतक अक्कल बहादुरको घर पहिरोले बगाएको थियो । उक्त पहिरोमा एकै परिवारका ६ र पाहुँना लाग्न आएक १ गरी ७ जना परेका थिए ।