काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चीनको ५ दिने भ्रमण स्थगित गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले चीनले नसोधी नेपाली भूभागलाई भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएको भन्दै नैतिकताका आधारमा भ्रमणमा नजाने निर्णय भएको बताएका छन् ।
नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो । चिनले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेको छैन ।
उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु । ।’