हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा वडाध्यक्ष पदका लागि आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन्। आइतबार सम्पन्न मनोनयन दर्ता प्रक्रियामा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र व्यक्तिहरूले आफ्नो उम्मेदवारी पेस गरेका छन्।
मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईका अनुसार नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी, नेकपा एमालेका राजेश नगरकोटी, माओवादी केन्द्रका रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रेमबहादुर भ्लोन लामा, एकीकृत समाजवादीका बलराम बल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आशाबीर बल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की फुलमाया तितुङ, जनता समाजवादी पार्टी ९जसपा०का छबिलाल वाइबा र दीपा लामा मनोनयन दर्ता गराएका छन् ।
५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारको सूचीमा युनेश लामा स्याङ्तान, अर्जुन घलान, कुमार पोखरेल, गीता कुमारी नेवार र छत्रप्रकाश अधिकारी रहेका छन्।
निर्वाचन कार्यालयका प्रमुख अधिकृत हरिप्रसाद ढकालका अनुसार उम्मेदवारहरूको विवरण छानबिन गरी मंसिर ५ गते अपराह्नमा नामावली सार्वजनिक गरिनेछ। त्यसपछि सोही दिन ३ देखि ५ बजेसम्म उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्ने समय तोकिएको छ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित वडाध्यक्ष ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा चयन भएपछि उक्त पद खाली भएको थियो। यही कारण यस वडामा उपनिर्वाचन हुँदैछ।
मंसिर १६ गते हुने वडाध्यक्ष उपनिर्वाचनका लागि कुल १,५८८ जना नयाँ मतदाता थपिएका छन्। प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडाका अनुसार अब १२ नम्बर वडामा कुल मतदाता संख्या ८,०५३ पुगेको छ।
नयाँ विवरणअनुसार मतदातामा ३,८७८ पुरुष, ४,१७४ महिला र १ जना अन्य रहेका छन्। यसअघि २०७९ साल वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडामा ६,४६५ जना मतदाता रहेका थिए।वडामा दुई मतदान केन्द्र स्थापना गरिएको छ। प्रतिभा आधारभूत विद्यालय, सिग्रेनीमा पाँचवटा मतदान बुथ रहनेछ भने विष्णु ज्योति आधारभूत विद्यालय, भोर्लेमा चारवटा मतदान बुथ हुनेछ ।
हेटौंडा–१२ को यो निर्वाचन विभिन्न दलहरूको प्रतिष्ठाको विषय बनेको छ। यसले स्थानीय स्तरमा राजनीतिक शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।