प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रवि लामिछानेको फोटो सार्वजनिक गर्ने पक्राउ

२०८१ पौष ८, सोमबार ०८:३५ बजे

काठमाडौं – कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन्। उनलाई आइतबार काठमाडौंको थलीबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन्।

भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाउने तयारी भइरहेको छ। यसअघि भुसालले हिरासतभित्र रहेको प्रहरी सिसिटिभी स्क्रिनबाट लामिछाने सुतिरहेको फोटो खिचेको स्वीकार गरेका थिए।

भुसालले भने, “मैले प्रहरीकै अगाडि सिसिटिभी स्क्रिनमा देखिएको फोटो खिचेको हुँ। त्यतिबेला प्रहरीले केही भनेन, यस्तो होला भनेर थाहा पनि भएन। गल्ती भयो।” उक्त फोटो उनले आफ्नो फेसबुकमा पोस्ट गरेको र त्यसपछि रास्वपाका कार्यकर्ताहरूले भाइरल बनाएको भुसालको भनाइ छ।

भुसालले आफू रास्वपाको सदस्य नभएको स्पष्ट गर्दै लामिछानेलाई भेट्न जाँदा आफ्नो मोबाइल प्रहरीलाई बुझाएको बताए। कास्की प्रहरीले कार्यालयमा आउने सेवाग्राहीलाई मोबाइल लैजान अनुमति नदिएको भए पनि भुसालले प्रहरी गेटभित्र सिसिटिभी स्क्रिन देखेर फोटो खिचेको जनाएका छन्।

लामिछाने पक्राउ परेपछि कास्की प्रहरी प्रमुख श्यामबाबु ओलिया र सूचना अधिकारी डिएसपी बसन्त शर्माले कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीहरूलाई मोबाइल लैजान रोक लगाएका थिए। यो घटना सुरक्षा प्रक्रियाको उल्लंघनका रूपमा चर्चामा रहेको छ।