हेटौंडा – मिटरब्याजीबाट पीडित भएकाहरुलाई जिल्ला प्रशासन कार्यालयहरूमा प्रमाणसहित उजुरी दर्ता गराउन सार्वजनिक सूचना जारी गरेसंगै मकवानपुरमा उजुरी दिनेको सङ्ख्या बढ्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबारसम्ममा ९ वटा उजुरी दर्ता भएको थियो । त्यसमा बुधबार थप दुई वटा बढेर ११ वटा उजुरी दर्ता भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए । उनले भने,‘उजुरी बढ्ने क्रम जारी छ, अझै बढ्न सक्छ ।’
तीमध्ये कतिपयले बिना प्रमाण(ठाडो) र कतिपयले प्रमाणसहित उजुरी दर्ता गराएको सहायक प्रजिअ गैह्रेले बताए । विना प्रमाण उजुरी दर्ता गर्न बढी आएको बताउँदै उनले भने,‘प्रमाण भए, नभएका सबैको उजुरी दर्ता गराएका छौँ, अब यसको कारवाही प्रक्रिया अगाडी बढाउँछौँ ।’
प्राप्त उजुरीका आधारमा छानबिन गरेर कारबाही गरिने बताउँदै उनले भने,‘पहिलो चरणमा दुबै पक्षलाई खोर छलफल गछौँ, सहमति नभएर प्रहरीमार्फत कानुनी प्रक्रिया अगाडी बढ्छ ।’
सरकारले अधिकार सम्पन्न अध्ययन समिति निर्माण गरी ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी सङ्कलन गर्न गरी कारबाही प्रक्रिया अघि बढाउन भनेको थियो । गृहमन्त्रालय अन्तर्गत गठन भएको कार्यदलले मङ्गलबारदेखि स्थलगत रूपमा खटिएर छानबिन गर्न थालेको छ ।
गत साउन २७ गते गृहमन्त्री स्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलले देशभर नै मिटरब्याजीविरुद्ध जिल्ला प्रशासन कार्यालयहरूमा प्रमाणसहित उजुरी दर्ता गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।
सूचना जारी भएपछि आइतबार कार्यालय समयसम्म एक हजार ९३७ जना मिटरब्याजी पीडितले उजुरी दर्ता गराएको कार्यदलका संयोजक डा. भिष्मकुमार रिजालले बताए । उनका अनुसार मधेश प्रदेशमा सबै भन्दा बढी एक हजार ३३० जनाको उजुरी परेको छ । प्रदेश १ मा ९२, बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बिनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी परेका छन् ।
.