प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मत्स्य प्रवर्धन हेटौंडाको अतिक्रमित जग्गामा बनेका संरचना हटाईने, रंगशाला के हुन्छ ?

२०८० श्रावण २, मंगलबार ०३:३० बजे

हेटौंडा – प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौंडाको १३ बिघा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण भएको पाईएको छ । मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाएको विवरण अनुसार हेटौंडा ५ स्थित केन्द्रको नाममा रहेको ४९ हेक्टर मध्ये १३ बिघा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण भएको पाईएको हो । केन्द्रको कित्ता नम्बर ९६ को अतिक्रमण भएको जग्गाको विवरण गत जेठ ८ गते पठाएको थियो ।

उक्त पत्र अनुसार सबैभन्दा बढी ८ बिघा १३ कठ्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रंगशाला निर्माण, हेल्थ पोष्ट र कार्यालयको भवन समेत अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन गरेको छ । त्यस्तै उद्धव चौलागाईंले २ कठ्ठा १ दशमलव ५ धुर, सनम श्रेष्ठले १ कठ्ठा १ दशमलव ५ धुर, कृष्णप्रसाद पुरीले १ कठ्ठा १२ धुर, रामकृष्ण कुँवरले १ कठ्ठा ३ धुर, विष्णु दंगालले २ कठ्ठा ५ धुर, जीतलाल महर्जनले १ कठ्ठा ३ धुर, कालु स्याङ्तानले १ कठ्ठा ५ धुर र पदम बहादुर खड्काले २ कठ्ठा ४ धुर र  प्रेमबहादुर परियारले १ कठ्ठा जग्गा अतिक्रमण गरेको पत्रमा उल्लेख छ ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौंडाद्वारा सार्वजनिक विवरण ।

अतिक्रमत जग्गामा घरटहरा बनाएर पसल, रेष्टुरेन्ट र कुखुरा पालन गरिरहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्रका प्रमुख सरोज कुमार यादवले बताए । अनुमानित एक/डेढ धुरमा कित्ताकाट गरी १० जना ब्यक्तिको नाममा पास भएको समेत पाइएको प्रमुख यादवले बताए ।व्यक्तिको नाममा पास भएको जग्गाको बिवरण उपलब्ध गराउन जिल्लाको नापि र मालपोत कार्यालयमा पत्रचार गरिएको समेत उनले बताए ।

पत्रमा उल्लेख विवरण अनुमानित, बास्तविक निकाल्नै बाँकी
प्रमुख सरोज कुमार यादवले मत्स्य प्रवर्द्धन केन्द्र हेटौंडाको अतिक्रमण जग्गाको पत्रमा उल्लेखित विवरण अनुमानित रहेको बताए । उनले अतिक्रमण भएको जग्गाको बास्तविक क्षेत्रफल निकाल्न बाँकी नै रहेको बताए । ‘जिल्ला प्रशासनमा पेश भएको विवरण अनुमानित हो, त्यो प्राविधिक लगाएर नापेर निकालेको होइन,’ उनले भने, ‘प्राविधिक सहितको टोलीले स्थलगत निरीक्षण र नापजाप गर्ने तयारीमा छौँ, यहि श्रावण १० गतेदेखि काम सुरु हुन्छ ।’ स्थलगत निरीक्षण र नापजापपछि अतिक्रमण गरिएको जग्गाको क्षेत्रफल बढी आउने उनको दाबी छ ।

प्राविधिक सहितको टोलीले स्थलगत निरीक्षण र नापजाप गरेर बास्तविक विवरण निकाल्ने तयारीमा रहेको उनले बताए । यहि श्रावण १० गतेदेखि अतिक्रमण भएको जग्गाको तथ्याङक संकलन गर्ने उनले बताए । नापेर निकाल्दा अतिक्रमण गरिएको जग्गाको क्षेत्रफल बढी आउने उनको दाबी छ ।

अतिक्रमण क्षेत्रको संरचना हटाईने, के हुन्छ रंगशाला ?
कानुनी प्रावधान अनुसार सरकारी स्वामित्वमा रहेको जग्गामा विना अनुमाति कुनै पनि निकायले संरचना बनाउन पाईदैन । प्रमुख यादवका अनुसार मत्स्य प्रवर्द्धन केन्द्रको जग्गामा निर्मित संरचनाहरुको स्वीकृती छैन । अतिक्रमण गरेर निर्माण भएका ब्यक्तिगत संरचनाहरु हटाईने यादवले बताए । तर, सरकारी स्तरको ठुलो लगानीमा बनेको रंगशाला, सडक लगायत संरचनाको हकमा संघीय, प्रदेश र स्थानीय तहको निर्णय अनुसार प्रक्रिया अगाडि बढाउने उनको भनाई छ ।

रंगशालाको जग्गा स्वामित्वमा ल्याउने निर्णय
कर्रा खोलामा बाढी आउन साथ पिप्ले क्याम्पा रंगशाला निर्माण भएको बस्तिमा क्षेत्र जलमग्न हुन्थ्यो । रंगाशाला निर्माणसंगै बाँध बाधिएपछि खोलाको पानी बस्ती पस्न रोकिएको छ । खोलाले कटान गरेको जमिनलाई संरक्षण गरेर रंगशालाको भिआइपी प्याराभिट र मन्दिर बनाईएको छ । त्यसमा लगानी स्थानीय र प्रदेश सरकारको रहेको छ । त्यस भौतिक संरचना निर्माण भएको जग्गाको स्वामित्व आफ्नो नाममा ल्याउने बिषयमा हेटौंडा उपमहानगरपालिकाको कार्यापालिका बैठकले निर्णय गरेको वडा नम्बर ५ का वडाध्यक्ष सुशिल घिमिरेले बताए । रंगशालाको निर्माता समेत रहेको घिमिरले भने,‘रंगशालाको जग्गा जि टु जि हस्तान्तर गर्ने प्रक्रिया अगाडि बढेको छ, संघीय मन्त्रिपरिषदबाट पास भएपछि रंगशाला निर्माण भएको जग्गा हेटौंडा उपमहानगरको स्वामित्वमा आउँछ ।’