प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

राजर्षि जनक कपको फाइनल खेल आज,उपाधिका लागि पिप्ले र मछिन्द्र भिड्दै

२०७८ चैत्र १३, आईतबार ०४:३७ बजे

हेटौंडा – छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनल खेल आज आइतबार हुँदैछ । सर्लाहीको स्व.सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने फाइनल खेलमा साविक बिजेता पिप्ले युवा क्लब र एडिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २ बजेपछि सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनासहित मैदान उत्रने छन् । दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि मैदान उत्रने बताएका छन् ।विजेताले १० लाख नगद प्राप्त गर्दा उपविजेता टोलीले ५ लाख नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पिप्लेले आयोजक बागमती युवा क्लबलाई ट्राइब्रेकरमा ४–२ गोल अन्तर पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनल खेलमा मछिन्द्रले सुदुरपश्चिम–११ लाई ३–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

पाँचौँ संस्करणमा पिप्लेले आयोजक टोली बागमतीलाई उसकै मैदानमा हराउँदै प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको पिप्लेले उपाधि चुमेको थियो ।