प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा पञ्चवर्षीय विराट् महायज्ञ सुरू

२०८० बैशाख २०, बुधबार १३:५५ बजे

हेटौंडा – वाग्मती प्रदेशको राजधानी हेटौंडामा बुधबार पञ्चवर्षीय विराट् महायज्ञ सुरू भएको छ । ‘महायज्ञको प्रभाव ः सामाजिक सद्भाव’ भन्ने मूल नाराका साथ राप्तीतटमा महायज्ञ सुरू हुनअघि बृहत् शान्ति शोभा कलशयात्राले हेटौंडा नगर परिक्रमा गरिएको थियो। कलश यात्रामा एउटै सारी र धोतीले सजिएका हजारौँ महिला उपस्थित भएका थिए । २५ हजार महिलालाई एकैनासका सारी र धोती वितरण गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक अजेयराज सुमार्गीले जानकारी दिए ।

महायज्ञ शुभारम्भ समारोहमा बोल्दै प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले विराट् महायज्ञ मौलिकता संरक्षणतर्फको सर्वोत्तम कार्य भएको टिप्पणी गरे। हाम्रो देशको मौलिकता संरक्षण गर्नका लागि आवश्यक परे संविधान संशोधन गर्न पनि ठूला दल तयार हुनुपर्ने उनको भनाइ छ ।

‘संविधानलाई संशोधन गरेन भने कुरूप हुन्छ। मौलिकता संरक्षणका लागि आवश्यक प¥यो भने संविधान संशोधन पनि गर्नुपर्छ।’ उनले भने, ‘त्यसका लागि प्रचण्ड, देउवा, ओलीसहितका सबै नेताहरूलाई मेरो अनुरोध छ– मौलिकता संरक्षणका लागि एकमुख हुनुहोस् ।’ कार्यक्रमका विशिष्ठ अतिथि राप्रपा प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले आफूहरू नेपाललाई वैदिक धर्मसहितको धार्मिक राष्ट्र बनाउन कम्मर कसेर लागेको उल्लेख गर्दै सबैलाई साथ दिन अपिल गरे ।

मकवानपुर १ बाट निर्वाचित राप्रपाका संघीय सांसद दीपकबहादुर सिंहले धर्म, परम्परा, संस्कार र रीतिरिवाजलाई बेवास्ता गरेर कुनै पनि मुलुक अघि बढ्न नसक्ने बताए। उनले धर्मसंस्कृतिको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गरे। राष्ट्रियसभाका पूर्वसदस्य रामनारायण बिडारीले राजनीतिभन्दा धर्मको क्षेत्र फराकिलो हुने तर्क गरे ।

महायज्ञ मूल आयोजक समितिका संयोजक अजेयराज सुमार्गीले धार्मिक र अध्यात्मिक जागरणका लागि पञ्चवर्षीय महायज्ञ आयोजना गरिएको बताए। ‘नयाँ पुस्तालाई हाम्रो धर्मसंस्कृतिबारे झक्झक्याइराख्न विराट महायज्ञ आयोजना गरेका हौं’, सुमार्गीले भने, ‘मलाई विश्वास छ यसपटक हजारौं भक्तजन महायज्ञमा उपस्थित हुनुहुनेछ ।’

विशेष कथावाचक भएका कारण पनि कार्यक्रम महत्वपूर्ण हुने उनको भनाई छ । सात दिनसम्म चल्ने महायज्ञमा वेदाचार्य कृष्णप्रपन्न स्वामी, मुख्यवाचक रहेका छन् भने डा। सीताराम अग्निहोत्रीको पनि नियमित प्रवचन रहने आयोजक समितिले जनाएको छ । समितिका अनुसार महायज्ञमा पितृको सम्झनामा करोडौँ दीप प्रज्वलन गर्नुका साथै महाआरती एवं महिलाबीच मात्रै गीता वाचन प्रतियोगिता पनि गरिनेछ ।