प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

मानव बेचविखनमा संलग्न तीन जना पक्राउ

२०७९ असार २२, बुधबार १३:०९ बजे

काठमाडौं – मानव बेचविखन तथा ओसारपसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला स्थायी वतन भएकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् ।

दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी अनुसार उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास, जबरजस्ती करणी, कुवेतमा मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभन देखाएर भारतको नयाँदिल्ली हुँदै २०७८ चैत १६ गते कुवेत लगेका थिए । घरायसी कामका लागि बिक्री गरेको र घर मालिकले समेत बन्धक बनाएर जबरजस्ती करणी गरेको र पीडितलाई मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलको पहलमा कुवेतबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार साथै रेवतीले भारतमा डान्सको काममा लगाईदिने प्रलोभनमा पारी पीडितलाई वीरगञ्जबाट भारतको रक्सौल सौनाबजार पुर्‍याई डर त्रास देखाएर डान्स गर्न लगाएको अवस्थामा भारतीय प्रहरीले उद्धार गरी भारतको बालिका गृह मोतिहारीमा राखेकोमा माईती नेपालको सहयोगमा नेपाल फिर्ता ल्याइएको थियो ।

यसैगरी भरतमणिले दुबईमा कम्पनीको प्याकिङ सम्बन्धी काममा लगाईदिने भनि मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभनमा २०७९ वैशाख १६ गते काठमाडौं एयरपोर्टबाट दुबई भनी कुवेतको घर मालिकलाई ५ हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंको २०७९ असार २१ गतेको आदेशले दौलतलाई, २०७९ असार १५ गतेको आदेशले रेवतीलाई र २०७९ असार ८ गतेको आदेशले भरतमणिलाई मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ