प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा उपमहानगरभित्रै दैनिक ८ घण्टासम्म हिड्न बाध्य विद्यार्थी

२०८० असार २५, सोमबार १२:५८ बजे

हेटौंडा - पटकपटक भालेको ‘कुखुरी काँ’ को आवाजले विहान ६ बजे १२ बर्षीय आसिष मोक्तानको निन्द्रा खुल्छ । थकित ज्यान तन्काएर हाई काड्दै ओछ्यानमा मडारिएको देखेपछि उनकी आमा बसन्ती भन्छिन्, ‘रेगो आले, योना रेगो, स्कुल निबारी ढिला ताला, काङ्गबाला कान देन खु फर्सी डाप सोङ्बा मुला, चासी स्कुल न्यूला छोरो, ङा केरी निजी ।’

(नेपाली भाषामाः–उठ छोरा, छिटो उठ, स्कुल जान ढिला हुन्छ, ढिंडो र फर्सीको सागको तरकारी बनाएको छ, खाएर स्कुल जाउँ ल छोरा, म मेला गएँ)

आसिष भन्छन्, ‘ल ल आमा ।’ असारको महिना, गर्मीले गलेको ज्यान आसिष आँखा माड्दै आमाआमा भन्दै आँगनको डिलमा पुग्छन् । आमा डोको लिएर खहरेखोला झरेको देखेपछि तारेपानीले भरिएको सानो ड्रमको पानीले हातमुख धोएर खाना आफैं पस्किएर खान बस्छन् ।

ढिंडो अन्तिम गाँस बटार्दै थिए आसिष, ‘७ बज्न लागिसक्यो यो आसिष त उठेको छैन कि क्यो हो, आशिष ए.. आशिष’ बोलाएको आवाज सुनेपछि जुठो हात र थाल लिएर बाहिर निस्कँदा अपर्ण राई, मनिष थोक्कर, सन्देश गुरुङ, कुशल भोलन लगायत करिब २० जना साथीहरु उनलाई विद्यालय जान पर्खिरहेका थिए ।

आसिष चाँडोचाँडो लुगा लगाएर काँटीमा झुड्याएको ब्याग भिरेर घडिको सुईले ७ नकाट्दै विद्यालय निस्किए । घनाजंगङ्गलको खहरेखोच र चुरे पहाड पारगर्दै करिब ७ किलोमिटर पैदल हिडेर हेटौंडा उपहानगरपालिका वडा नं.१६ स्थित त्रिभुवन माध्यमिक विद्यालय पढ्न पुग्छन् ।

उनीहरु भन्छन्, ‘आउँदा किताबकापी बोकेर उकालो बाटो दुईघण्टा बढी लाग्छ, जाँदा ओरालो छ अलि कम समय लाग्छ ।’ दैनिक ४ घण्टा हिड्दा थकाईले पढ्न जाँगर लाग्छ ? हाम्रो प्रश्नमा उनीहरुले भने, ‘लाग्दैन ।’ कतिखेर पढ्छौँ, गृहकार्य गर्छौ ?, ‘घरपुग्दा रातपर्छ, राम्रोसँग पढ्न र होमवर्क गर्न भ्याईदैन,’ उनीहरुले एकै स्वरमा भने ।

जंगलको बाटो खहरे खोला हुँदै हिड्नु पर्ने भएकोले भेलबाढी र जंगली जनावरको समेत डर हुने गरेको हेटौंडा १६ सातबोटेकी त्रिभुवन माबी कक्षा ९ मा अध्ययनरत आरती मोक्तान बताउँछिन् । त्यसमै सलोन भोलन थप्छन्,‘एकदिन स्कुल आउने बेला ठुलो पानी परेसंगै खहरेमा भेल आयो, हामी किनार जंगलको डिलमा बसेर बाच्न सफल भयौँ, नत्र हामीलाई खोलाले बगाउथ्यो, त्यो दिन पानीले सबै किताब भिजायो ।’

ती विद्यार्थी बारा जिल्लाको पनि होइनन्, बकैंया गाउँपालिका पनि होइनन् । हेटौंडा उपहानगरपालिका वडा नं.१६ र १७ कै सातबोटेबासी हुन् । बागमती प्रदेशको राजधानी हेटौंडामा पनि यस्तो ठाउँ छ र ? सुन्दा अच्चम मान्नु पर्दैन । यो त प्रतिनिधि पात्र मात्रै हो ।

हेटौंडा उपमहानगरपालिका वडा नं.१६ का आकाशधारा पानीसराकी अनुसा योञ्जन १५ बर्षकी भइन् । उनले स्थानीय आकाशधारा पानीसरा प्राविमा ५ कक्षा पढेपछि थप कक्षा पढ्न जनप्रिय माध्यमिक विद्यालय आउन दैनिक ८ घण्टा पैदल हिड्नुपर्ने भएपछि दुईबर्ष पढाई छोड्नुपरेको स्मरण गरिन् ।

उनीसंगै उनकी साथी १५ बर्षीया बिपना गोलेले विद्यालय आउन घण्टौ हिड्नु पर्ने भएकै कारण कक्षा ५ पासको एक बर्षपछि विद्यालय भर्ना भएको सुनाइन् । जनप्रिय माविले छात्राबासको ब्यवस्था गरेपछि अनुषा र विपना त्यहीँ बसेर आफ्नो अध्ययन अगाडि बढाएका छन् । अनुषा कक्षा ७ मा पढ्छिन् भने बिपना कक्षा ८ मा अध्ययनरत छिन् ।

आर्थिक अवस्था राम्रो भएकाहरु कोठाभाडामा लिएर पढिरहेका छन् भने आयस्तर कमजोर भएका तथा घरेलु समस्या भएकाहरु जंगलको बाटो घण्टौ जोखिमपूर्ण तरिकाले विद्यालय आउने जाने गरिरहेको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चौलागाईं बताउँछन् । छात्राबासमा बस्न ग्रामिण क्षेत्रकै विद्यार्थीलाई पहिलो प्राथामिकता दिएपनि केही विद्यार्थीहरु बस्न नमान्ने उनको भनाई छ । 

पढाई छाड्ने र सानै उमेरमा विहे
साताबोटेको महादेव प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ । त्यस स्कुलमा हुने कक्षा ५ सम्मको पढाई पुरा गरिन् सिरुघारीकी संजिता प्रजाले । तर, उनी अहिले कक्षा ६ मा पढ्ने होइन्, घरमै बस्छिन् । उनी मात्रै होइनन् यसअघि उनकी दिदी निरुता र सविनाले पनि पढाई छाडेकी थिइन् ।

उनीहरु पढाई छोड्नुको कारण एक विद्यालय टाडा, अर्को आर्थिक अवस्था देखाउँछन् । १४ देखि १७ बर्ष उमेरका ती किशोरीहरु पढ्न नपाउने भएपछि उनका अबिभावक केटा माग्न आए विहे गरिदिने सोचमा छन् । जनप्रियमा अध्ययनरत अनुषा योञ्जनले आफूसँगै पढ्ने सहपाठीको केही समय अघि मात्रै विहे भएको बताइन् । पढ्ने समयमा हिडेर वित्छ, बर्षभरि विद्यालय धाएपनि राम्रो रिजल्ट आएन, मसँगै पढ्ने एकजना दिदीको विहे भयो,” उनले भनिन् ।

सातबोटेकै १३ बर्षीय शुुसन प्रजा, १० बर्षीय सुजल प्रजा, ७ बर्षीय सितल प्रजा र उनीहरुका ५ बर्षीय भाई त्रिभूवन माविमा पढ्छन् । उनीहरु नियमित पठनपाठनका लागि विद्यालय आउँदैनन् । परिवारको अन्तरिक कलह र कमजोर आर्थिक स्थितीका कारण प्रजाका चार दाजुभाई पढाई छाड्ने स्थितिमा पुगेको विद्यालयका सहायक प्रधानाध्यापक दिपक ढुङ्गाना बताउँछन् । ‘यदि हामीसंग होस्टल भईदिएको भए, उनीहरुलाई ड्रप आउट हुन दिदैन थियौँ,’ उनले भने ।

बस छ, बाटो छैन
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्यार्थीलाई पढ्न आउजाउ गर्न सहज होस् भन्ने उदेश्यले प्रदेशभित्र विद्यालयहरुलाई बस खरिदका लागि अनुदान उपलब्ध गराउँदै आएको छ । हेटौंडा उपमहानगरका शिक्षा शाखाका प्रमुख गंगाधर रिमालका अनुसार नगरभित्रका १० वटा विद्यालयले अनुदान लिएर ११ वटा बस खरिद गरेका छन् । बस भएपनि सडक पूर्वाधार भरपर्दो नभएकै कारण वडाको ग्रामीण आकाशधारा पानीसारा र शक्ति क्षेत्रमा सुविधा पुर्याउन नसकिएको जनप्रिय विद्यालयका प्रधानाध्यापक चौलागाईंले बताए ।

सडक पूर्वाधारको ब्यवस्थापन गरे त्यस क्षेत्रमा बस सञ्चालन गर्न सकिने उनले बताए । विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेसँगै दुईवटा बसले दैनिक दुई ट्रिप गर्दा समेत विद्यार्थी ओसार्न धौधौको अवस्था रहेको उनले बताए ।

सिफारिसमा तोक लाग्यो, बस खरिदमा अनुदान आएन
हेटौंडा उपमहानगरपालिका वडा नं. १७ को त्रिभुवन माध्यमिक विद्यालयले २०७९ सालमा सामाजिक विकास मन्त्रालयमा बस खरिदका लागि अनुदान माग ग¥यो । स्थानीय चुनावका बहाना बन्यो । त्यसपछि वडा कार्यालयको सिफारिस सहित मन्त्रालयको शिक्षा निर्देशनालयलाई चालु आर्थिक बर्षमा अनुदान माग ग¥यो ।

हेटौंडा उपमहानगरपालिकाका शिक्षा शाखाले उपलब्ध गराएको बिवरण अनुसार हेटौंडा–११ को त्रिभुवन माविका दुईवटा बस खरिद गर्न अनुदान पाउँदा हेटौंडा–१७ को त्रिभुवन माविले पाउन सकेन । त्यो अुनदान सिफासिरमा तोक लाग्यो तर, बस खरिदका लागि अनुदान रकम नपाएको विद्यालयका प्रधानाध्यापक मनोज पाठकले बताए । ‘सातबोटे धेरै टाडा पनि होइन, बर्षायाममा बस चलाउन नसकेपनि हिउँदमा चलाउन सकिन्थ्यो, घण्टौ हिडेर आउने विद्यार्थीलाई राहत हुन्थ्यो भनेको अनुदान पार्न सकिएन’ पाठकले भने ।

छात्राबासको ब्यवस्था गर्नुपर्छः वडाध्यक्षहरु
ग्रामीण क्षेत्रका विद्यार्थीहरु पढ्नकै लागि घण्टौ हिड्नु पर्ने बाध्यता चाँडो अन्त्य गर्न होस्टल सञ्चालन गर्नु बाहेक अन्य विकल्प नरहेको हेटौंडा उपमहानगरपालिका वडा नं.१७ का वडाध्यक्ष उद्धब सत्याल बताउँछन् । ‘होस्टल निर्माणका लागि वडाको बजेटले सम्भव देखिदैन, पालिकास्तरबाटै सहयोग र पहल हुनुपर्छ,’ उनले भने ।

वडा नं. १८ का वडाध्यक्ष अनिलकुमार बानियाँ भन्छन् ‘वडा नं. १५, १६, १७, १८, १९ र १ मा ग्रामीण क्षेत्र छन्, सकिन्छ यस क्षेत्रका प्रत्येक विद्यालयमा होस्टल राखौँ, सकिदैन एक वडामा १ सय विद्यार्थी अट्ने एउटा मात्रै बनाउन सकियो भने समस्या समाधान हुने देखिन्छ ।’

विकास निर्माणसँगै आयआर्जनमा जोड दिन आवश्यक
नगर शिक्षा कार्यालयले दिएको जानकारी अनुसार ग्रामीण वडाका अधिकांश विद्यालयमा होस्टल छैनन् । होस्टल छ तर, कर्मचारीलाई आर्थिक स्रोत ब्यवस्थापन गर्न नसक्दा सञ्चालनमा आउन सकेको छैन । हुनेले कोठा लिएर पढेका छन् नहुने पढाई छाड्ने गरेका छन् ।

आकाशधारा पानीसरा प्राथमिक विद्यालका प्रधानाध्यापक प्रेम शिलवालका अनुसार ग्रामीण क्षेत्रका पढाई छाड्ने विद्यार्थीहरु इटा भट्टा, गलैंचा बुन्न जाने र सानै उमेरमा बिवाह गर्ने गरेका छन् । उपमहानगरको ध्यान गामीण क्षेत्रमा विकास निर्माणका कामसँगै स्थानीयस्तरमा पाइने स्रोतसाधनको प्रयोगको माध्यमबाट आयआर्जनका कार्यक्रम सञ्चानलमा केन्द्रित गर्नुपर्ने प्रधानाध्यापक शिलवाल बताउँछन् ।

ग्रामीण क्षेत्र विकासको लागि प्राथमिकता दिएका छौँः मेयर लामा
हेटौंडा उपमहानगरपालिका भित्रका ग्रामीण क्षेत्रमा सडक विस्तार गर्न निकै कठिनाई रहेकोले सो क्षेत्रका विद्यार्थी पढ्ने विद्यालय छात्राबास निर्माण गरिने मेयर मीनाकुमारी लामाले बताइन् । ‘केही विद्यालयमा छात्राबास सञ्चालनमा छ, नभएका विद्यालयमा जतिसक्दो चाँडो निर्माण गछौँ,’ मेयर लामाले भनिन् । हेटौंडा उपमहानगरपालिका हुँदा गाभिएका वडाहरुको ग्रामीण भेगमा खानेपानी, बाटो, विद्युत, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधार विस्तारमा प्राथामिकता दिएर काम गरिरहेको उनको भनाई छ ।

हेटौंडा उपमहानगरपालिकाको ग्रामिण वडा मध्ये वडा नं.१६ को जनप्रिय माध्यमिक विद्यालमा बाहेक अन्य विद्यालमा छात्राबास सञ्चालनमा छैन । नेपालको बिद्यमान शिक्षाको कानुनी प्रावधान अनुसार कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टा भन्दाबढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकिएको छ ।

माथि उल्लेखित क्षेत्रसहित हेटौंडा १८ (हर्नामाडी) को फूलबारी, सुकौरा, हेटौंडा–१५ को बंगेरीखर्क, चिप्लेटी, बाँसघारीलगायत हेटौंडा–१९ को सेरसेर जस्ता पहाडी बस्तीका बालबालिका प्राथमिक तहको अध्ययन गरेपछि कक्षा ६ मा पढ्न ४ देखि ८ घण्टासम्म हिड्नुपर्ने बाध्यता छ । बालमैत्री स्थानीय तह घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरले पढ्नैका लागि बालबालिकाले घण्टौं हिडेर संर्घष गर्नु परेको बाध्यताको सम्बोधन गर्ला कि नगर्ला त्यो भने हेर्न बाँकी छ ।