हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको न्यूनतम मूल्य निर्धारण गरेसँगै खरिद सङ्कलन सुरु गरेको छ । मकवानपुरगढी गाउँपालिका वडा न. ८ बुढीचौर क्षेत्रमा उत्पादित मिठे फापर र तिते फापर स्थानीय एकता स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडले कृषकहरूबाट खरिद गरी सङ्कलन सुरु गरेको हो ।
सहकारी संस्थाले प्रति केजी ११६ रुपियाँको दरले कृषकहरूबाट फापर खरिद गरेको सहकारीका व्यवस्थापक गुन्जरत्न लुङ्वाले जानकारी दिए । सहकारीले पहिलो दिन २१ जना कृषकबाट दुई हजार १७४ केजी फापर खरिद गरेको छ । पहिलो दिन मकवानपुरगढी ८ का कृषक चन्द्रबहादुर लुङ्वाले सबैभन्दा बढी २६८ केजी फापर बिक्री गरे ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, वडा न.८ का वडाध्यक्ष कुमार सीँ घिसिङ, वडा सदस्यद्वय गोकुलप्रसाद देवकोटा र सूर्यमाया दोङको उपस्थितिमा फापर खरिद तथा सङ्कलन कार्य सुरुवात गरिएको हो ।
सहकारीका अध्यक्ष बालानन्द तिमल्सिनाले १० मेट्रिकटन खरिद गर्ने लक्ष्य रहेको बताए । गत वर्ष स्थानीय किसानले फापर प्रति केजी ९० रुपियाँमा बिक्री गरेकोमा यो वर्ष गाउँपालिकाको अनुदानसहित गर्दा बढी मूल्य पाएका छन् ।