प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बस दुर्घटनामा मृत्यु भएकाको सनाखत, घाइतेको अस्पतालमा उपचार हुँदै

२०७९ कार्तिक १३, आईतबार ०३:४२ बजे

हेटौंडा – पूर्वी नवलपरासीमा बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

पाल्पाको रम्भा गाउँपालिकाबाट मनकामना दर्शनको लागि जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङ्गटार–२, डाँडाझेरीको मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी पाल्पाको रम्भा गाउँपालिका १ निवासी ४१ वर्षीया तारा विक, १७ वर्षीय विनयी विक, ६२ वर्षीय धनी विक, ५८ वर्षीय देवी गाहा र स्याङ्जाको गल्याङ १ बेलचौर निवासी ४५ वर्षीया फूलमाया माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक सन्तोष पाठकले जानकारी दिए।

पाठकका अनुसार बसमा ३५ जना सवार थिए । बाँकी ३० जना सबै घाइतेलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बस कालीगण्डकी कोरीडोरको सडकबाट १०० मिटरतल खसेको थियो ।