हेटौंडा – अत्यधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकामा सबै विद्यालय एक हप्ताका लागि बन्द गरिने भएको छ । दुबै पालिकाले एक सुचना जारी गर्दै जेठ २१ गते आइतबार देखि २६ गतेसम्म एक साताका लागि विद्यालय विदा दिने निर्णय गरिएको जनाएको छ ।
दुबै स्थानीय तहका शिक्षा विकास तथा समन्वय इकाईले आफ्नो पालिकाभित्रका सबै वडालाई एक हप्ता विद्यालय बन्द गर्न आवश्यक समन्वय र सहजिकरणका लागि अनुरोध गरेको छ ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिकाको स्वाथ्यमा विभिन्न खोले समस्या देखिएपछि वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदाका दिईएको सूचनामा उल्लेख छ।
२७ गते शनिबार रहेकोले २८ गते आइतबारबाट विद्यालयहरु सञ्चालनमा हुनेछ । विदाको अवधिमा बालबालिकालाई दिउँसो घाममा बाहिर निस्कन नदिई घरमै सुरक्षित रुपमा रहने व्यवस्था मिलाउने अविभावकहरुलाई आग्रह गरिएको छ ।
बालबालिकाहरुलाई रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी हुन प्रोत्साहन गर्ने, पोषणयुक्त खाना खुवाउने, जंकफुड, स्वास्थ्य लाई प्रतिकुल असर गर्ने खानेकुराहरु खान नखुवाउने र स्वच्छ खानेकुराहरु मात्रै खुवाउन सुझाव समेत दिएको छ ।