प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भीमफेदी गाउँपालिका र सामाजिक सुरक्षा कोषबीच सम्झौता

२०८० श्रावण ३१, बुधबार ०१:५९ बजे

हटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारीक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराउन सम्झौता गरेको छ । मंगलबार सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद ज्ञवाली र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गरी स्वरोजगार र अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिहरूको कोषमा आवद्धता गराउने प्रक्रिया औपचारिक रुपमा गर्ने कार्यक्रम अन्तरगत भीमफेदी गाउँपालिकामा काम गर्ने श्रमिकका लागि संझौता गरिएको हो । सामाजिक सुरक्षा कोषमा आवद्धता भएको भीमफेदी गाउँपालिका बागमती प्रदेशको पहिलो स्थानीय तह हो भने देशभरबाट दोस्रो स्थानीय तह हो ।

भीमफेदी गाउँपालिकाको गाँउसभावाट स्विकृत कार्यक्रम अनौपचारीक तथा स्वरोजगार श्रमिकको भबिष्य, सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागीताको लागी भिमफेदी गाउँपालिका र योगदानमा आधारीत सामाजिक सुरक्षा कोष बिच सम्झौता भएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । चालु आर्थिक वर्षमा भीमफेदी गाउँपालिका क्षेत्रमा काम गर्ने एक सय जनालाई यो कार्यक्रममा समेट्ने लक्ष्य राखेको अध्यक्ष लामाले बताए ।

सुरुवाती अवस्थामा घरेलु तथा कृषि क्षेत्रमा काम गर्ने श्रमिक निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिक लगायतलाई आवद्ध गराउने पालिकाको योजना रहेको छ ।  सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, श्रमिकलाई पारिश्रमिकको ९.३७ प्रतिशत रकम थप गरी कोषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले बताए ।