हेटौंडा – जग्गा बेच्न नदिएपछि साथीसंग मिलेर आफ्नै आमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने ३६ वर्षीय ओम बहादुर नेपालीले साथी सोही महानगरपालिका–१२ माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई आफ्नै आमा ६७ वर्षीया नौमायाँ नेपालीको हत्या गर्न लगाएका हुन् ।
प्रहरीका अनुसार ओमले घर जग्गा बेच्नको लागि पटकपटक प्रयास गरेका थिए । उनको आमाले बेच्न नमानेपछि साथी कुमार गुरुङलाई आमा मार्नको लागि १ लाख दिन्छु भन्दै बिहीबार राति नौमायाँ निदाएको अवस्थामा घाँटी थिची हत्या गरेका थिए ।
प्रहरीका अनुसार हत्यापछि दुवै जना कुमारको कोठामा गएर सुते । शुक्रबार बिहान ओम बहादुर घरमा गएर आफू नभएको बेला आमाको कसैले हत्या गरेको भनी प्रहरीलाई खबर गरेका थिए ।
शुक्रबार बिहान नौमायाँको शव आफ्नै घर कोठाभित्र फेला परेको थियो । उनको घाँटीमा थिचेको डाम र अनुहारमा घाउ देखिएको थियो । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ओम र उनका साथी कुमारलाई पक्राउ गरेको हो । ओम मृत नौमायाँको जेठो छोरा हुन् ।
उनीहरू उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।