हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं.२ धवाडीपुलमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक मकवानपुरगढी–२ बस्ने ३५ बर्षीय भिम बहादुर स्याङतानको अपह्रान्न ४ बजेर २० मिनेटको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार पुरानो मेडिकल कलेज भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएपछि आफन्तले पुनः हेटौंडा अस्पतालमा ल्याएका थिए । उनको हेटौंडा अस्पतालका डाक्टरले मृत घोषणा गरेका हुन् ।
बिहिबार दिउँसो १ बजेको समयमा सुकौराबाट कान्तिलोकपथ तर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर धवाडीपुल छेउमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार मकवानपुरगढी–२ बस्ने ३४ बर्षीया रुपा स्याङतान र उनकी ५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको थियो ।
तीनै जनाको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ । शवको पोष्टमाटको लागि आवश्यक तयारी भइरहेको प्रहरीले जनाएको छ ।