प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट अशोकलाई ‘बुलेट बाइक’, विधा तर्फ आर्मीको ‘कब्जा’

२०७९ जेठ ३०, सोमबार १५:२२ बजे

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न स्थानीय तह शहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करणमा सर्वोउत्कृष्ट खेलाडी घरेलु टोली विजय युथ क्लबका अशोक बराल घोषित भएका छन् ।

प्रतियोगिताकै सर्वोउष्कृष्ट खेलाडी घोषित भएका अशोकले रोयल इन्फिल्ड बुलेट बाईक जित्न सफल भएका छन् । खेल निरीक्षकको निर्णय र दर्शको मतको आधारमा अशोकले बुलेट बाइक पाएका हुन् । यसअघि तेस्रो संस्करणमा घरेलु टोलीकै अमिर श्रेष्ठले बुलेट मोटरसाइकल पाएका थिए । 

अशोकले ब्यक्तिगत रुपमा उत्कृष्ट प्रर्दशन गरेपनि टोलीलाई उपाधि भने दिलाउन सकेनन् । प्रतियोगिताको उप–विजेता बनेको विजय युथलाई फालइनलमा पु¥याउनको लागि महत्वपूर्ण योगदान गरेका थिए । यसअघि क्वाटरफाइनल र सेमिफाइनमा उत्कृष्ट खेलमा उनले एक गोल पनि खाएका थिएनन् ।

सर्वोत्कृष्ट खेलाडीको लागि हेटौंडा स्कूल अफ म्यानेजमेण्टका सञ्चालक पुरणबहादुर जोशीले मुल्य ६ लाख मूल्य बराबरको बुलेट बाइकको व्यवस्था गरेका थिए । गोल्डकप फुटबलमा सर्वोत्कृष्ट खेलाडीको लागि दिइने यो सबैभन्दा ठूलो पुरस्कार राशी हो ।

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबार भएको फाइनल खेलमा आर्मीले विजय युथलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो । आर्मीलाई उपाधि दिलाउनको लागि फाइनल खेलमा कप्तान भरत खवास र कमल बहादुर थापाले एक–एक गोल गर्दा विजय युथका डोना थापाले एक गोल फर्काएका थिए ।

सर्वोत्कृष्ट खेलाडी विजय युथले कब्जा जमाउँदा विधातर्फ आर्मीको बर्चस्व रहयो ।आर्मीका विकेश कुथु उत्कृष्ट गोलरक्षक घोषित भए । आर्मीको संर्घषपुर्ण उपाधि यात्रामा उनले महत्वपुर्ण योगदान दिए । यसअघिको दुई खेलमा पेनाल्टी सुटआउटबाट बचाउँदै टोलीलाई फाइनलमा पुर्याउन सफल भएका थिए ।

त्यस्तै उत्कृष्ट डिफेन्डरमा आर्मीका विमल पाण्डे, फरवार्डमा दिनेश हेम्जन र मिडफिल्डर आमीकै बिवेक बस्नेत घोषित भए । टोली उत्कृष्ट प्रशिक्षण गर्दै उपाधि दिलाएका आर्मीका नविन न्यौपाने घोषित भएका छन् । बिधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५–२५ हजार प्राप्त गरेका छन् ।

यता विजय युथलाई हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको विभागिय टोली आर्मीले ट्रफि सहित नगद १५ लाख गरेको छ । उप–विजेता विजय युथले १० लाखमै चित्त बुझाएको छ । यही जेष्ठ १९ गते सुरु भएको प्रतियोगितामा एक विदेशी टोली सहित १२ टोलीको सहभागिता रहेको थियो ।