हेटौंडा – मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर खटिने कर्मचारीहरु मतपेटिका लगायतका ७३ प्रकारका सामाग्री बुझ्नका लागि प्रदेश निर्वाचन कार्यालय हेटौंडामा निकै भिड लागेको छ ।
यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक र प्रतक्ष तर्फको मतपत्र बुझेर आफ्ना मतदान केन्द्रमा जाने कर्मचारीहरुको निकै भीड लागेको छ । आज बेलुका सम्म कर्मचारीहरु आफ्ना मतदान केन्द्रमा पुगेर सूचना टाँस गर्नुपर्ने भएकाले पनि मतदानका दिनलाई चाहिने आवस्यक सामाग्री लिएर जानेक्रम बढेको हो ।
मकवानपुरका दश वटा स्थानीय तहमा रहेका बिभीन्न मतदान केन्द्रहरुमा निर्वाचनका सामाग्री लिएर गएर मतदानको सबै प्रकृया मतदान अधिकृत, सहयायक अधिकृत र सहायक स्तरका कर्मचारीहरुले पुर्याउनुपर्छ ।
चुनावमा खटिने कर्मचारीहरुलाई हिजो र आज मतपेटिका, मतपत्र लगायतका सामाग्रीहरु हस्तान्त्रण भइरहेको छ । जुन निर्वाचन क्षेत्रमा खटिएका छन् त्यही निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई मतपत्र वितरण गरेको छ भने प्रदेश निर्वाचन कार्यालय हेटौंडाले भने मतदानका दिन चाहिने आवस्यक सामाग्रीहरु हस्तान्तरण गरिरहेको छ ।
मतपत्र सहितका सामाग्री लिएर आज बेलुका सम्ममा सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्नुपर्ने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । जिल्लामा ३ हजार जना कर्मचारी खटिएका छन् । ३ हजार जना कर्मचारी मध्यमा ५ सय जना सहायक स्तरका शिक्षकहरुलाई पनि खटाउने भएको छ ।
हेटौंडामा रहेका बिभीन्न मन्त्रालय, जिल्ला स्तरका कार्यालय र स्थानीय तहसमेत गरेर २ हजार ५ सय जना कर्मचारी र अरु पाँच सय जना सहायक स्तरका स्थायी शिक्षकहरुलाई चुनावमा खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो ।
मकवानपुरका प्रत्यक मतदान केन्द्रमा कर्मचारीहरु खटाउन लागिएको छ । स्थानीय तहको चुनावमा भन्दा अहिले प्रदेश र प्रतिनिधीसभाको चुनावमा धेरै कर्मचारी यस जिल्लामा खटिएका हुन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उपसचिब स्तरमा मतदान अधिकृत रहेका छन् भने अधिकृत स्तरका सहायक अधिकृत खटिएका छन् ।
जिल्लाको गाउँ गाउँमा भने अधिकृत तहका मतदान अधिकृत खटाइएको छ भने नायव सुव्बा तहका कर्मचारीलाई सहायक अधिकृतको रुपमा खटाइएको छ । शिक्षकहरुलाई भने सहायक स्तरका कर्मचारीको रुपमा मात्र खटाइएको उहाँले वताउनुभयो । जनपत्रबाट