हेटौँडा – बागमती प्रदेश सरकार र सङ्घीय सरकारले बागमती प्रदेशमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर सहलगानीका योजनालाई तीव्रता दिएका छन्। बागमती प्रदेशका विभिन्न जिल्लामा प्रदेश र सङ्घ सरकारको सहलगानीमा आधा दर्जन सडक योजना गत आर्थिक वर्ष २०७८/७९ बाट सुरु भएका छन् ।
बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका प्रवक्ता हरिप्रसाद ओझाले सङ्घ सरकारको समपूरक अनुदान कार्यक्रमअन्तर्गत प्रदेश र सङ्घीय सरकारको ५०/५० प्रतिशत योगदान रहने गरी ठूला छवटा सडक योजना निर्माणाधीन रहेको जानकारी दिनुभयो । तीन वर्षभित्रमा कालोपत्रेसहित स्तरोन्नतिको काम पूरा गर्ने लक्ष्य राखिएका ती सडक योजनाहरूको लागत दुई अर्ब रुपियाँभन्दा बढी रहेको छ।
निर्माणाधीन योजनाहरूमा सिन्धुलीमाढी–भीमस्थान–चकमके–उदयपुर सडकको दोस्रो खण्डको ३० प्रतिशत भौतिक प्रगति भएको छ । १२.७ किमि लम्बाइको यो सडक ३५ करोड तीन लाख तीन हजार रुपियाँको लागतमा निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको छ ।
बहुवर्षीय योजना अन्तर्गत प्रदेश र सङ्घीय सरकारको लगानीमा रसुवा जिल्लाको कालिका गाउँपालिकामा धारपानी रुप्सेपानी–जीवजीवे झ्याङलाङ लोकिल सडक २९ करोड ६२ लाख ५९ हजार रुपियाँको लागतमा गत आवबाट निर्माणाधीन रहेको छ। १०.३५ किमि लम्बाइ कालोपत्रेसहित स्तरोन्नति गरिने उक्त सडकको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको छ ।
यस्तै पुष्पलाल प्रदेश चक्रपथ अन्तर्गत मनहरी धादिङ सडक ५० करोड १० लाख १० हजार रुपियाँको लागतमा निर्माणाधीन छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाको सिमपानीबाट सुरु हुने उक्त सडकले पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको आदमघाट जोड्नेछ। दुई खण्डमा निर्माणाधीन उक्त सडकको मकवानपुरतर्फ सात किमि र धादिङतर्फ १२.५ किमि रहेको जानकारी दिँदै निर्देशनालयका प्रवक्ता ओझाले मनहरी धादिङ सडकको २५ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो ।
यस्तै प्रदेश राजधानी र सङ्घीय राजधानीलाई जोड्ने सडक अन्तर्गत मकवानपुरको कुलेखानीबाट सिस्नेरी, छैमले, दक्षिणकाली हुँदै काठमाडौँ जोड्ने सडकको प्रदेश र सङ्घीय सरकारको संयुक्त लगानीमा दुई खण्डमा स्तरोन्नतिको कार्य भइरहेको छ । आठ किमि लम्बाइको काठमाडौं खण्ड ३१ करोड ९३ लाख १२ हजार रुपियाँको लागतमा र १२ किमि लम्बाइको मकवानपुर खण्ड ४३ करोड ४१ लाख १६ हजार रुपियाँको लागतमा निर्माण भइरहेको हो ।
मकवानपुरतर्फको कामको ३० प्रतिशत र काठमाडौँतर्फको २५ प्रतिशत भौतिक प्रगति भएको निर्देशनालयको भनाइ छ। निर्देशनालयका प्रवक्ता ओझाले दोलखामा सुनखानी साङवा सडक स्तरोन्नतिको कामको प्रगति २० प्रतिशत मात्र भएको जानकारी दिँदै १५ किमि लम्बाइको उक्त सडक ३२ करोड ८६ लाख ५६ हजार रुपियाँमा निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको बताउनुभयो ।गोरखापत्र दैनिकबाट