काठमाडौं – रोहित पौडेलको उत्कृष्ट ब्याटिङ र सन्दीप लामिछानेको किफायति बलिङमा नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डमाथि जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई दुई विकेटले हराएको हो । यो शृङ्खला नेपालको लगातार चौंथो जित हो ।
स्कटल्यान्डले दिएको २१२ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा आठ विकेट गुमाउँदै भेट्टायो । नेपालालई जित दिलाउन कप्तान पौडलले अविजित ९५ रन बनाए। उनले ७ चौका र ४ छक्का प्रहार गरे ।

रोहितको यो एकदिवसीय अन्तराष्ट्रियमा सातौं अर्धशतक हो । रोहितले यस अघि पपुवा न्युगिनी र अमेरिकाविरुद्ध २र२ तथा यूएई र नामिबियाविरुद्ध १र१ अर्धशतक बनाएका थिए ।
अर्का खेलाडी करण केसीले ३१ रनको योगदान दिए। नेपालको जितमा रोहित र करणले नवौं विकेटका लागि अविजित रुपमा ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो ।
ज्ञानेन्द्र मल्ल २१ रन, कुशल मल्लले १७ रन, आसिफ शेखले १२, सन्दीप लामिछानेले ९ रन, ओपनर कुशल भुर्तेल १ रन, सन्दीप जोराले १ रन, दीपेन्द्र सिंह ऐरीले ७ र सोमपाल कामीले २ रन बनाए ।
स्कटल्याण्डका लागि मार्क वाटले ३, क्रिस ग्रेभ्सले २ विकेट, सफियान सरिफ, माइकल लिस्क र ब्रेण्डन म्याकमुलनले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि आज जन्मदिन मनाईरहेका जर्ज मुन्शेले ५० बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । म्याथ्यु क्रसले ४२ रन, ब्राण्डन म्याकमुलनले ३१ रन, क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिदा करण केसीले ३ विकेट लिए । त्यस्तै कुशल मल्ल र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए । यस खेलमा नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन् ।
केसी नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यस अघि पूर्व कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले ५० विकेट पूरा गरेका थिए ।
यो परिणामसँगै नेपालले त्रिकोणात्मक खेलका सबै चार खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो।
अब नेपालको २८ खेलबाट २६ अङ्क भएको छ। लीग-२ को अङ्कतालिकामा यूएई पाँचौँ स्थानमा छ। उसको २६ खेलबाट २७ अङ्क छ।
ट्रफी स्कटल्यान्डलाई
स्कटल्यान्ड आईसीसी विश्वकप लिग टू को विजेता बनेको छ। नेपालसँग कीर्तिपुरमा मङ्लवार खेलेको खेलसँगै सन् २०१८–२३ को आईसीसी विश्वकप लीग–२ मा खेल्नुपर्ने कुल ३६ वटा खेल पूरा गरेको छ।
सबै खेलबाट ५० अङ्क बटुल्दै स्कटल्यान्ड अङ्कतालिकामा शीर्ष स्थानमा रहन सफफ भई लीग विजेता बनेको हो। आईसीसीले कीर्तिपुर मैदानमा स्कटल्यान्डलाई च्याम्पियन ट्रफी हस्तान्तरण गरेको छ।
शृङ्खलामा अन्य देशहरूले खेल्नुपर्ने खेल बाँकी छन्। नेपालले अब आठवटा खेल खेल्न बाँकी छ। आगामी दुई सातामा नेपालले यूएई र नेपालमा बाँकी खेलहरू खेल्नेछ। बाँकी रहेको खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ ।