प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा वनको डढेलोले जनताको धनमाल भष्मखरानी, आगो लगाउने दुई जना पक्राउ

२०८१ बैशाख १२, बुधबार २१:०४ बजे

हेटौंडा – मकवानपुरमा वनमा लागेको डढेलोले स्थानीय धनमाल भष्म खरानी बनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार मात्रै जिल्लामा करिब ५ वटा घर तथा जलेर नष्ट भएका छन् । जसमा ४ वटा वनबाटै सल्किएको आगोका कारण क्षति हुन पुगेको छ । आगलागीबाट केही पशुचौपाया मृत्यु भएपनि मानविय क्षति भने भएको छैन । 

बागमती गाउँपालिका वडा नं.९ ढाडे बस्ने चन्द्रमाया स्याङताङको २ तले जस्ताको छाएको कच्ची घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार कालिश्वर सामुदायिक बनबाट सल्किएको आगोले घर जलेर नष्ट भएको हो । उक्त आगोलागीबाट घर पुर्ण रुपमा जलेर नष्ट हुँदा घरभित्र रहेको लत्ताकपडा,भाडावर्तन,अन्नपात क्षति भएको प्रहरीले जनाएको छ।

त्यस्तै बकैया गाउँपालिका वडा नं. ४ पाङधुरे दमार बस्ने दिपक जिम्बाको २ वटा जस्ता र खरले छाएको कच्चि गोठ जलेर नष्ट भएको हो । बुधबार दिउँसो नौलो हरियाली सामुदायिक बनमा लागेको डडेलोबाट आगो सल्किएर घरगोठमा आगोलागी भएको थियो ।

उक्त आगो प्रहरी, स्थानीयबासी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार आगोलागीबाट २ वटा गोठ पुर्णरुपमा नष्ट हुँदा गोठभित्र रहेको २ वटा बाख्रा जलेर मृत्यु भएको छ भने १ वटा बाख्रा घाईते भएको छ ।

बारीमा बालेको आगोबाट कैलास गाउँपालिका वडा नं. ४ झ्यागेस्थित नवराज न्यौपानेको गोठमा क्षति भएको छ । स्थानीय र प्रहरीको सक्रियताको कारण गोठ गोठमा लागेको आगोे केही समयमै पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । जसको कारण मानविय र चौपाया क्षति हुनबाट जोगिएको थियो ।

यसैगरी बुधबार दिउँसोकै सयममा ईन्द्रसरोवर गाउँपालिका वडा नं.२ सुकौरास्थित पवली भन्ज्याङ सामुदायिक वनमा लागेको आगोका कारण राम बहादुर घिसिङको माटो ढुङ्गा,टिनले छाएको २ तले घरमा क्षति भएको छ भने अन्नपात र घरेलु सामाग्री जलेको छ ।

घरको अगाडीको भाग काठको बार्दली ,झ्याल, ढोका, मकै ५ मुरी, तोरी ३ मुरी, फापर १ मुरी,डि.ए.पि.मल २ बोरा, पानी राख्ने ड्रम ३ वटा र भाडाकुडाहरु जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै स्थानीय राम चन्द्र घिसिङको शौचालयमा समेत क्षति हुन पुगेको प्रहरीले जनाएको छ ।

पवली भन्ज्याङ सामुदायिक वनमा आगो लगाएको आरोमा प्रहरीले स्थानीय २० बर्षीय अर्जुन बल तामाङ र ३८ बर्षीय सोम बहादुर घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट के कति मुल्य बराबरको क्षति भयो भन्ने बारेमा खुलेको छैन ।