हेटौंडा – बाराको फेटा गाउँपालिका वडा नं. ६ पुरौनियाका शौफुलाह अन्सारी अन्य सामान्य मानिसको तुलनामा होचा कदका छन् । उनी शारिरीक अपाङ्गता पनि । २२ बर्षीय जीवन पार गर्दैगर्दा उनले धेरै उतारचढाब भोग्नु पर्यो । मिहेनतमा विश्वास राख्ने अन्सारी म अशक्त छु भनेर कहिल्यै हात फैलाएनन् ।
सरकारले शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । त्यो भत्ता अन्सारीले पनि पाउँछन् । बढ्दो महँगीका कारण सामाजिक सुरक्षाभत्ता मरुभूमिमा एक गाग्री पनी खन्याएको जस्तै हुथ्यो अन्सारीलाई ।
घरको आर्थिक स्थितिले गर्दा राम्रो पढ्न पाएनन् । पड्दापड्दै कक्षा ८ मै पढाई छाड्नु पर्यो । त्यसपछि उनी कलम समात्ने मलिन हातले सलाई रेन्चु, पिलास, चेस्टर समात्नु पुगे । त्यतिबेला उनी १३ बर्षका थिए ।
उनी पहिलो पटक काम गर्न भनी महेन्द्रनगर पुगे । त्यहाँ एक मेशिनरी पसलमा काम गर्ने र सिक्ने अवसर पाए । त्यहीँ करिब ७ बर्ष विग्रीएका मेशिनरी सामग्री बनाउन सिके । घरआउन जान नजिक हुने भएपछि उनी वीरगञ्जको एक मेशिनरी पसलमा काम गर्न आइपुगे ।

प्राय हप्तैपिच्छे कामको शिलशिलामा वीरगञ्ज पुग्ने हेटौंडाका पौडेल मेशिनरी पसल सञ्चालक सञ्जीव पौडेलको नजर उनीमाथि पर्यो । काम प्रतिको इमान्दारिता र लगनशिलता देखेपछि अन्सारीलाई सञ्जीवले हेटौंडा ल्याए ।
अन्सारी हेटौंडा आएको करिब एक बर्ष भन्दा बढी भयो । उनले रेन्चु–पिलास समात्न थालेको ९ बर्ष भयो । उनले रेन्चु–पिलास अझै छोडेका छैनन् । उनी करिब एक वर्षदेखि हेटौंडा उपहानगरपालिका वडा नं.२ बुद्धचोक नजिकै पौडेल मेसिनरी पसलमा कार्यरत छन् ।
उनी त्यहाँ विग्रिएका विभिन्न प्रकारका मेशिनरी औजारहरु मर्मत गर्ने काम गर्छन् । उनी पानी तान्ने मोटर, मसला पिस्ने मिल, ड्रिल मेसिनलगायत बिग्रिएका औजारहरु बनाउँछन् । त्यहाँ उनी मासिक २० देखि ३० हजारसम्म कमाउँछन् ।

उनले रेन्चु–पिलास चलाएको भरमा आफ्नो परिवार धानेका छन् । १९ बर्षकै उमेरमा बिवाह बन्धनमा बाँधिएका अन्सारी दम्पतीका एक सन्तान छन् । उनी आफ्नो भाइ, बाबुआमासँगै बस्छन् ।
उनी अझै आफ्नो सीपदक्षतालाई बढाउन चाहन्छन् । यही कामलाई निरन्तरता दिएर भविष्य उज्वल बनाउने सोचमा छन् । त्यसको लागि आफू मिहेनत गर्न नछोड्ने उनको भनाई छ ।