हेटौंडा – हेटौंडा उपममहानगरपालिका वडा नं.८ स्थित कालिका टोलमा गैंडाको खाग तस्करीको आरोपमा एक जना पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको नेपाली सेनाको टोलीले मंगलबार उक्त व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको नाम खुलाइएको छैन।
घटनास्थलमा सेनाले पाँच राउण्ड हवाइ फायर गरेको छ। सेनाले मान्छेलाई पूर्ण रूपमा नियन्त्रणमा लिएपछि पनि अनावश्यक रूपमा गोली चलाएको प्रत्यक्षदर्शीहरुले आरोप लगाएका छन्। उनका अनुसार पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएपछि पनि हवाइ फायर गरिएको थियो।
सेनाले पक्राउ परेका व्यक्तिको खुट्टामा गोली प्रहार गरेको आरोप पनि स्थानीयले लगाएका छन्। पक्राउ परेका व्यक्तिलाई सेनाको टोलीले चितवनस्थित राष्ट्रिय निकुञ्जमा लगेका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ भने सेनाले हवाइ फायरको विषयमा कुनै प्रतिक्रिया दिएको छैन।