हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले आजदेखि ‘स्मार्ट कन्ट्रोल रुम’ सञ्चालनमा ल्याएको छ । मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले एक समारोहबीच कन्ट्रोल रुमको उद्घाटन गरेका हुन् ।
विभिन्न माध्यमबाट प्राप्त हुने सूचना तथा खबरलाई छिटो एवम चुस्त रुपमा प्रहरी परिचालन गरी अपराध रोकथाम नियन्त्रण गरिएका प्रहरी कारवाहीको सम्पुर्ण प्रक्रियासमेत कम्प्युटरमा अभिलेखिकृत हुने गरी ‘स्मार्ट कन्ट्रोल रुम’ स्थापना गरेको हो ।
सूचना प्रविधिको पहुँचको विस्तार भएसँगै मकवानपुरमा हुने घटना, दुर्घटनामा प्रहरीको छिट्टै उपस्थिती रहन सहयोग पुगोस् भन्ने उद्देश्यले नयाँ प्रविधिसहित स्मार्ट कन्ट्रोल रुमको सुरुवात गरिएको एसपी गौतमले बताए । प्रहरी कन्ट्रोल रुमबाट प्रदान गरिने सेवा सुविधा प्रभावकारी हुने उनले बताए ।
स्मार्ट कन्ट्रोल रुममा तीन/तीन थान फोन र कम्प्युटर रहेको छ भने सिसी क्यामेरबाट सीसी क्यामेरामार्फत सम्पूर्ण हेटौंडाको मुख्य बजार क्षेत्रका गतिविधि निगरानी गर्न सकिने छ । स्मार्ट कन्ट्रोल रुमबाट हुने फाइदा र यसको प्रयोगको बारेमा प्रहरी निरीक्षक राजु केसीले जानकारी गराएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की, मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आर्चाय, प्रहरी निरीक्षक रामचन्द्र घिमिरे लगायतको सहभागिता रहेको थियो ।