हेटौंडा – राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको राजधानी हेटौंडामा मतदान भइरहेको छ। बागमती प्रदेश प्रदेशको राजधानी हेटौंडा–४ स्थित भूटनदेवी माविमा बिहान नौ बजेबाट सुरु भएको मतदान ३ बजेसम्म चल्ने छन् ।
बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार मध्यान्ह १२ बज्दा बागमती प्रदेशको मतदान अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश प्रदेशको राजधानी हेटौंडा–४ स्थित भूटनदेवी माविमा प्रदेशसभा सदस्य ११० जना मध्ये ९९ जनाले र २३७ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये २२९ जनाले मतदान गरिसकेको उनले जानकारी दिए ।
तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि सहभागी नहुने भएका छन्। मेयर बालेनको कार्यव्यस्तताका कारण उनी निर्वाचनमा सामेल नभएको मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। ‘उहाँ कार्यव्यस्तताको कारण मतदान गर्न जानुभएको छैन,’ उनले भने।
यसअघि पनि मेयर बालेनले प्रदेश सभामा भोट हालेका थिएनन्। उनले प्रतिनिधि सभा र समानुपातिकमा मात्र भोट खसालेका थिए।तर महानगरकी उपप्रमुख सुनिता डंगोल भने मतदान गर्न हेटौंडा आएकी छन्।
बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट महिलातर्फ विष्णुकुमारी पुडासैनी र अन्यतर्फ जितजङ्ग बस्नेत, माओवादी केन्द्रबाट अपाङ्गतर्फ श्रीकृष्ण अधिकारी तथा नेकपा (एकीकृत समाजवादी) बाट दलिततर्फ घनश्याम रिजाल विश्वकर्मा उम्मेदवार रहेका छन् ।
त्यसैगरी नेकपा (एमाले) बाट महिलातर्फ रोजकुमारी चौलागाई, अन्यतर्फ त्रिलोचन निर्मल पौडेल, अपाङ्गतारअल्पसङ्ख्यकतर्फ विवेक देवकोटा र दलिततर्फ ध्रुवराज विश्वकर्मा उम्मेदवार रहेका छन् । राप्रपाबाट अन्यतर्फ हेमजङ्ग गुरुङ, महिलातर्फ नानु नगरकोटी, अपाङ्गतारअल्पसङ्ख्यकतर्फ भरतमणि भट्ट र दलिततर्फ पूर्णबहादुर विश्वकर्मा उम्मेदवार छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट महिलातर्फ कृष्णलक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपाली उम्मेदवार छन् ।