प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नवौं राष्ट्रिय खेलकुद: जित्ने गण्डकी र हार्ने वाग्मती प्रदेश क्वाटरफाइनलमा

२०७९ आश्विन २८, शुक्रबार १०:१४ बजे

पोखरा – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा आज(शुक्रबार)को खेलमा जित्ने गण्डकी प्रदेश र हार्ने वाग्मती प्रदेश क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशाला कोर्टमा शुक्रबार दिउँसो गण्डकी र वाग्मती प्रदेशबीच खेल भएको थियो । खेल गण्डकीले ३–१ सेटले जित्यो । तर, समूह ‘डी’ मा गण्डकी र वाग्मती मात्रै रहेकोले गण्डकी समुह विजेता र वाग्मती उपविजेता बन्दै क्वाटरफाइनल चरण प्रवेश हो ।

पहिलो सेट २५–२० ले गण्डकीले जित्दा दोस्रो सेट १५–२५ ले वाग्मती जित्यो । त्यसपछि तेस्रो सेट २५–१८ ले जित हात पार्दा चौंथो सेट २५–१४ ले गण्डकीले जित निकाल्यो ।

शुक्रबार पहिलो खेलमा विभागीय टिम पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले जितसँगै ३ अंक जोडेको छ ।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा ११ टोलीको सहभागिता रहेको छ । उक्त टोलीलाई चार वटा समुहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पुलिस, कर्णाली र लुम्बिनी प्रदेश रहेको छ ।

समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् । फाइनल कात्तिक ३ मा हुनेछ ।