काठमाडौं – थाहा दर्शनका प्रणेता रुपचन्द्र विष्टको २४ औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । रुपचन्द्र बिष्ट स्मारक समिति नेपालको आयोजना तथा मकवानपुरे समाज काठमाडौको प्रायोजनमा बिष्टको २४औं स्मृति दिवस मनाईएको हो ।
स्व.बिष्टको स्मृतिमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा रुपचन्द्र बिष्ट स्मारक समिति नेपालका अध्यक्ष तथा पूर्व राष्ट्रीय सभा सदस्य रामनारायण बिडारीको सभापतित्वमा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी,नेकपा एमालेका प्रदेश सचिव बिजय सुबेदी, नेकपा माओवादीकी नेतृ शसी श्रेष्ठ त्रिभुवन बिश्व बिद्यालयका प्राध्यापक चिरंजीवी खनाल तथा परराष्ट्रबिद् एवं राजनितज्ञ हिरण्यलाल श्रेष्ठको आतिथ्यताका साथै सयौं जनमानसको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा मकवानपुरे समाज काठमांडूका अध्यक्ष अरुण गुरुंगद्वारा सहभागी हरुलाइ स्वागत मन्तव्य राखिएको थियो । स्वागत मन्तव्यका क्रममा समाजका अध्यक्ष गुरुंगद्वारा रूपचन्द्र बिष्टको जनमुखि सक्रियताको चर्चा गर्दै उनी सिंगो युगको प्रतिनिधि रहेको उल्लेख गरेका छन् । कार्यक्रममा नेकपा एमालेका नेता बिजय सुबेदीले आफ्नो भूमिगतकालमा रूपचन्द्र बिष्टसंग संगत भएको र आफू स्वर्गीय बिष्टको अनुयायि भएर फर्किएको उल्लेख गरे । जनता जाननीय नभइ तीनका प्रतिनिधि माननीय हुन सक्दैनन् त्यसैले जनता जगाउने आफ्नो अभियान निरंतर जारी रहने भन्ने बिष्टका आदर्श जीवन्त रहेको उल्लेख गरेका छन् ।

उक्त कार्यक्रममा राजनितिज्ञ तथा परराष्ट्रबिद् हिरण्यलाल श्रेष्ठले संयोगबस आफूले स्वर्गीय रूपचन्द्र बिष्टको बिरुद्धमा चुनाव लड्नु परेको प्रसंग उल्लेख गरे । रुपचन्द्र बिष्टले दामन भ्यूटावरबाट नेपालको हिमसृंखला, खगोलिय अध्ययन गरि धर्ति र आकाशका बारेमा बिशेषज्ञता हासिल गरेका एक कुशल र योग्य ब्यक्तित्व रहेपनि समयले चिन्न नसकेका राजनीतिज्ञ रहेको भन्दै श्रेष्ठले चर्चा गरे ।
यसैक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले रुपचन्द्र बिष्ट बास्तवमै जनमुखी र निष्पक्ष सक्रियताको अभ्यासका प्रतिक रहेको बताए । केसीले आफु स्वास्थ्य मन्त्री हुँदा कर्मचारी सिफारिसको क्रममा रुपचन्द्र बिष्टले पत्रबाहक योग्य ब्यक्तिलाई छनोट गर्न बुझाब दिएको स्मरण गरे ।
कार्यक्रमका सभापति तथा पूर्वराष्ट्रीय सभाका सदस्य एवं बरिष्ठ अधिवक्ता रामनारायण बिडारीले रुपचन्द्र बिष्ट संभ्रान्त परिवारमा जन्मिएर परीवारमा बिद्रोह गरि कलिलो उमेरमै जनता जगाउने महान कर्ममा होमिएका निष्पक्ष सक्रियताको अभ्यास सुरु गरेको बताए । जनताको मस्तिष्कमा अग्रगामी कदम, समानता न्याय र बिभेदरहित समाजको निर्माण गर्नु नै जनमुखी राजनिती रहेको बताए । रुपचन्द्र बिष्टले आममानिसमा जागरणको बीजारोपण गराएको उनले बताए । उनले ती सवै जाली फटाहाका लागि प्रयोग भएकाले अझै लक्ष्य प्राप्ति नभएको बताएका छन् ।