हेटौंडा – भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपाल हेटौंडाले प्रत्येक बर्ष प्रदान गर्दै आएको बिजुलीमाया वनः अन्तराष्ट्रिय संगीत पुरस्कार–२०७८ नेपालका वरिष्ठ संगीतकार तथा गीतकार दीपक जङ्गमलाई प्रदान गरिएको छ । भीम विरागको १० औं स्मृती दिवसको अवसरमा शनिबार हेटौंडामा आयोजित विशेष समारोहबीच संगीतकार जंगमलाई पुरस्कार सहित सम्मानित गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्य र वरिष्ठ साहित्यकार एल बि क्षेत्रीले वरिष्ठ संगीतकार जंगमलाई एक लाख नगद सहित सम्मानित गरिएको हो । नेपाली सांगितिक क्षेत्रमा पाँच दशक भन्दाबढी योगदान पुर्याएका जंगमले चार हजारभन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा स्वर दिएका छन् ।
को हुन् दिपक जङ्गम ?
दीपक जङ्गम नेपालका एक वरिष्ठ संगीतकार तथा गीतकार हुन् । बुवा गोविन्दहरि जङ्गम र आमा जमुनादेवी जङ्गमका कोखबाट उनको जन्म बि.संं. २०१० सालमा भक्तपुरको टौमढीमा भएको हो ।
वाल्यकाल देखि नै नाट्या र सङ्गीतमा रूचि रहेका जङ्गमले ९ बर्षको उमेर पहिलो गित रेकर्ड गराएका थिए । उनले बि.सं. २०१९ मा ब्युउझाइदेउ नयन बोलको गीत रेडियो नेपालमा रेकर्ड गराएका थिए । उनको आफ्नै रचना, सङ्गीत र स्वर रहेको उक्त गीत नै पहिलो रेकर्ड भएको गीत हो । किन किन तिम्रो तस्विर, गाजलु ति ठूला ठूला आँखा, एउटा मान्छेको मायाले कति, सावनको झरी बने, यति धेरै माया दिई लगायतका चर्चित गितहरू उनले संगीत भरेका गित हुन् ।
जङ्गमले बि.संं. २०२१ देखि बि.संं. २०२४ साल सम्म नेपाल प्रज्ञा प्रतिष्ठान सङ्गीत तथा नाटकको तालिम लिएका थिए । बि.संं. २०२६ देखि बि.संं. २०४० साल सम्म सङ्गीत कलाकार तथा सहायक सङ्गीत निर्देशकको हैसियतले कार्य गरेका थिए । बि.संं. २०४० देखि बि. संं. २०४३ सम्म रत्न रेकर्डिङ्ग संंस्थानको अध्यक्ष तथा महाप्रबन्घक पदमा रहि काम गरेको अनुभाव छ ।
लाइफ टाइम अचिभमेन्ट अवार्ड, १९ औं ईमेज अवार्ड २०७४, हरिप्रसाद कल्याणी रिमार नाट्य संगीत पुरस्कार, नेशनल क्यापीटल लाइफटाइम अवार्ड जङ्गमले पाएको चर्चित र ठुला सम्मान तथा पुरस्कार हुन् । उनका एक श्रीमती, एक छोरा र एक छोरी छन् । उनको पत्नि बेनी जङ्गम रावल र छोरा अजर जङ्गम सांगितिक क्षेत्रमा नै क्रियाशिल छन् ।
प्रतिष्ठानले २०६४ सालमा संगीतकार अम्बर गुरुङलाई पुरस्कार प्रदान गरी शुरू गरेको थियो । पुरस्कार हेटौंडाका व्यवसायी÷समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा स्थापना गरेका हुन् । गत वर्षको पुस्कार नेपालीभाषी भारत दार्जिलिङकी गायिका दाबा ग्याल्मोलाई प्रदान गरिएको थियो ।