प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मनहरीको गर्भवती लक्षित कार्यक्रमः भिडियो एक्स–रे देखि एम्बुलेन्स सेवासम्म निःशुल्क

२०८० मंसिर २१, बिहीबार १७:०२ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकाले पालिकाभित्रका गर्भवती महिलालाई लक्षित गर्दै ग्रामीण अल्ट्रासाउन्ड(एक्स-रे) सेवा सुरु गरेको छ । पालिकाले गर्भवती महिला लक्षित कार्यक्रम अन्तर्गत अल्ट्रासाउन्ड मेसिन खरिद गरी सेवा सञ्चालन गरेको हो ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य शाखालाई भिडियो एक्स-रे मेशिन हस्तान्तरण गरी बुधबारबाट सेवा सञ्चालन गरिएको बताए । गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न भिडियो एक्सरे गर्न आवश्यक मानिन्छ ।

मेशिन हस्तान्तरण गर्दै उनले वडाका स्वास्थ्य संस्थामार्फत सहज सेवा दिन निर्देशन दिए । उनले गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्था बारे जानकारीसंगै शिशु तथा मातृ मृत्युदर न्यूनिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ग्रामिण भिडियो एक्सरे सेवा मार्फत प्रत्येक वडाका गर्भवती महिलाहरुले नजिकैको स्वास्थ्य चौकीबाट निःशुल्क सेवा प्राप्त गर्ने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए ।

यसअघि भिडियो एक्सरे सेवाका लागि मनहरीका दुर्गम गाउँका गर्भवती महिलाहरु महनरी बजारदेखि हेटौंडासम्म पुग्नु पर्ने बाध्यता थियो । स्थानीय कतिपय निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य थिए । त्यो बाध्यताको अत्य भएपछि मनहरीका स्थानीयहरु खुशि भएका छन् ।

यस सेवाले विशेष गरी मनहरीका दुर्गम क्षेत्रका गर्भवती महिलाहरु बढी लाभान्वित हुने पालिकाको विश्वास छ । गाउँपालिकाले गर्भवती महिलाहरुलाई पुर्ण संस्थागत प्रसुती सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गरेको छ । त्यस्तै पालिकाले गर्भवती महिलालाई प्रयोगशालाको पनि सुविधा दिएको छ ।