प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बोराभित्र भेटियो महिला र पुरूषको शव

२०८० मंसिर ६, बुधबार १७:३९ बजे

हेटौंडा – चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र दुई जनाको शव फेला परेको छ। पूर्वपश्चिम राजमार्गको सडकको कल्भर्टमा दुईवटा बोरामा महिला र पुरुष शव बुधबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको हो । दुबै जनाको हातखुट्टा बाँधिएको र मुखमा टेप लगाइएको उनले बताए ।

उनका अनुसार शवको सनाखत भइसकेको छैन । कल्भर्टमा माछा मार्न पुगेका व्यक्तिले बोराबाट गन्ध आएपछि शंका लागेपछि प्रहरीलाई खबरका थिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ। पोष्टमर्टमको लागि दुबै शव भरतपुर अस्पतालमा लगिएको छ।