प्रहर खबर
 २०८० मंसिर २५, सोमबार    

एमाले मकवानपुरभित्रको असन्तुष्टि थामथुम पार्न गतिविधि

२०७९ आश्विन २५, मंगलबार ०६:४२ बजे

हेटौंडा – मकवानपुरमा एमालेभित्र रहेको असन्तुष्टि थामथुम पार्न निर्वाचन लक्षित गतिविधि गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएपछि कार्यकर्ता असन्तुष्ट ब्यक्त गरेका थिए ।

सोमबार एमाले मकवानपुरद्वारा हेटौँडा–५ स्थित जिल्ला पार्टी कार्यालयमा आयोजित निर्वाचन लक्षित कार्यक्रममा थापा मत माग्न एमाले पार्टी कार्यालय पुगेका थिए । एमालेबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं.१ को उम्मेदवार उम्मेदवारी दर्ता गरेका थापाले कार्यक्रममा पुगेर सुर्य चिन्हबाट उम्मेदवार बन्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए ।

उनले राष्ट्रियताका सवालमा आफ्नो पार्टी र एमाले एउटै ठाउँमा रहेको जिकिर गरे । एकल रूपमा सांसद हुन मात्र निर्वाचनमा नउठेको र राष्ट्रवादी शक्तिबीचको एकताका लागि एमालेको सहयोग लिएको उनको भनाई थियो । उनले आफु एमालेको परिवारको सदस्य भएको समेत भन्न भ्याए ।

गत शुक्रबार एमाले केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, त्यसको भोली पल्ट शनिबार थापाले एमालेको समर्थन पाउने सार्वजनिक भएपछि एमाले कार्यकर्ता रुष्ट बनेका थिए । रुष्ट कार्यकर्ताले एमालेको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।