प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाका घिमिरे गरे श्रीमती बचाउन अपिल

२०७९ भाद्र २२, बुधबार १५:३० बजे

हेटौंडा – “मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन ।” यो गितको शब्दले मृत्युसंग लडिरहेका मानिसको प्रतिनिधित्व गर्दछ । त्यही अवस्थामा छिन् हेटौंडा उपमहानगरपालिका वडा नं.१८ दोभान चौरकी शारदा घिमिरे ।

जन्डिस रोगसंगै शारदाको शरीरको मृगौला, फोक्सो, कलेजो लगायतका अङ्गमा समस्या देखिएको छ । उनी अहिले भरतपुरस्थित चितवन मेडिकल कलेजको आइसियु कक्षमा उपचाररत छिन् । उमेरले ३२ बर्षकी शारदा अस्पताल बसेको २१ दिन भयो ।

पारिवारीक स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ । विभिन्न अङ्गमा समस्या भएको कारण अस्पतालमै राख्नु पर्ने अवस्था छ । शारदाको थप उपचारको लागि आर्थिक अभाव भएको कारण परिवारले सहयोग अपिल गरेका छन् । आफ्नो श्रीमती बचाउनको लागि श्रीमान अनिल घिमिरेले सहयोगको याचना गरेका छन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएकोले बाँकी उपचार गर्न रकम जोहो गर्न सक्ने अवस्थामा उनका परिवार छैनन् । अनिलका अनुसार शारदाको उपचारमा ८ लाख भन्दा बढी रकम खर्च भएको छ । ‘डाक्टरले अझै केही हप्ता अस्पतालमै राख्नुपर्छ भनेको छ । के कति खर्च लाग्ने हो ? ठेगान छैन ।,’ उनले भने ।

‘यत्रो दिन ऋणधन गरेर उपचार गर्नु भयो, केही सहयोग गाउँलेहरुले पनि गरे । कमजोर आर्थिक हैसियत परिवारले बाँकी उपचारको खर्च धाँन्न सक्ने अवस्था छैन,’ स्थानीय चुडा घिमिरेले भनिन्,‘ त्यसैले हामी सबै मिलेर उपचारको लागि रकम जोहो गर्न सबैसँग सहयोग मागिरहेका छौं।’

चार जना सदस्य भएको शारदाको परिवारको मुख्य आय स्रोत नोकरी हो । श्रीमान अनिल फर्निचर र श्रीमती विद्यालयमा खाजा बनाउने काम सुरु गरेकी थिइन् । शाारदा नोकरी गर्न सुरु गरेको दुई महिना नवित्दै थला परिन् । ‘बालबच्चा सानै छन् , एक दिन काम भएन भने परिवार चलाउन धौधौ हुन्छ ।,’ अनिलले भने,‘त्यहीमाथि कमाउन सुरु गरेकी श्रीमती थलापरेपछि हातमुख जोड्ने जोहो गर्नु कि उपचार खर्च जुटाउनु भाको छ ।’

अस्पताल भर्ना गर्दा सुरु/सुरुमा एकदिनमा ५० हजारसम्म उपचारको लागि खर्च लागेको श्रीमान अनिलले बताए । उनका अनुसार अहिले पनि दैनिक खर्च २० हजारभन्दा बढी हुने गरेको छ । त्यसैले श्रीमतीको उपचारको लागि कतैबाट सहयोग जुटाईदिन आग्रह गरे । सारदालाई सहयोग गर्न चाहनेले श्रीमान अनिल घिमिरेको मो. ९८६५०३१००३ र छोरी चुडा घिमिरेको मो. ९८६५५०३८१४ मा सम्पर्क गर्न सकिनेछ ।