प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मुम्बई विमानस्थलबाट दुई महिलासहित ८ जना नेपाली पक्राउ

२०८० पौष ९, सोमबार १७:४६ बजे

मुम्बई – नक्कली श्रम स्वीकृति बोकेको पाइएपछि भारतमा दुई महिलासहित आठ जना नेपाली नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्ने दुई महिलामा २२ वर्षीया माइली बोमजन र ३२ वर्षीया भगवती डांगी रहेका छन् । 

मुम्बई हुँदै कुवेत र यूएई जान लागेका उनीहरूको साथमा रहेको श्रम स्वीकृति नक्कली रहेको अध्यागमनका कर्मचारीहरूले पत्ता लगाएका थिए । उनीहरूलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलबाटशनिबार पक्राउ गरिएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

अध्यागमनका अधिकारीहरूलाई शङ्का लागेर उनीहरूको दस्ताबेज जाँच गरिएको थियो । उनीहरूको साथमा रहेको दस्ताबेजबारे नेपालको श्रम मन्त्रालयसँग बुझ्दा त्यो नक्कली रहेको पुष्टि भएको साहर प्रहरी थानाका एक अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार मन्त्रालयले ईमेलमार्फत ती दस्ताबेज नक्कली रहेको जवाफ पठाएको थियो ।

‘माइलीले दलाललाई कुवेतमा रोजगारीका लागि १० हजार र भगवतीले उमेश नाम गरेका दलाललाई २ लाख २० हजार रुपैयाँ बुझाएकी रहिछन्,’ ती अधिकारीले भने ।