हेटौंडा – भनिन्छ समाजमा रहेर समाजको हितका लागि निस्वार्थ काम गर्नु नै समाजसेवा हो । निस्वार्थ भएर समाजको लागि काम गर्ने मानिसहरु विरलै पाइन्छ । तीमध्येका एक हुन् हेटौंडा उपमहानगरपालिका वडा नं.२ का बुद्धिप्रसाद पौडेल ।
दुई दशक लामो समाजसेवा यात्रामा पौडेलले आफुलाई सिद्धहस्त फायरफाइटर, कुशल र निस्वार्थ समाजसेवीको रुपमा स्थापित गरेका छन् । २०५८ सालदेखि समाजसेवामा लागेका उनले शुन्दर सामुदायिक बनको १० बर्ष अध्यक्ष भएर काम गरे ।

हेटौंडा–२ चौकीटोलस्थित ओम वृद्धाश्रमको स्थापनामा महत्वपूर्ण योगदान दिदै संस्थापक अध्यक्ष बनेर १६ बर्ष नेतृत्व गरे । त्यसको प्रतिफलस्वरुप तिर्खाएका प्यासीहरुले प्यास मेट्न पाएका छन् भने बेसहारा वृद्धवृद्धाले सहारा ।
उनले हेटौंडाको चौकी टोल क्षेत्रमा निर्माण भएका मठमन्दिर, पार्टी, पौवा लगायतका सार्वजनिक भौतिक संरचनाहरु उनको योगदान दिएका छन् ।
२०६४ सालमा ४ कोठे भवनबाट वृद्धाश्रमले सेवा सुरु गरेको थियो । त्यतिबेला ५ जना मात्रै जेष्ठ नागरिक थिए । पौडेल संस्थापक अध्यक्ष समेत हुन् । उनको १६ बर्षे कार्यकालमा आश्रमले आधा दर्जन भौतिक संरचना निर्माण गरेको छ ।

करिब पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको ओम वृद्धाश्रममा मान्छे बस्न मिल्ने ४ वटा भवन रहेको छ भने एक मन्दिर र एक भान्सा कोठा रहेको छ ।
त्यहाँ ३२ वटा कोठा छन् भने ३ हजार क्षमताको सभाहल पनि बनाइएको छ । हाल आश्रममा २५ जना वृद्धवृद्धा आश्रित छन् । जसमा पुरुष १६ जना रहेका छन् भने महिला ९ जना छन् ।
यसरी शुरु भयो बृद्धाआश्रम
वृद्धवृद्धाले आश्रय नपाएको देखेपछि कस्को मनमा दया पलाउँदैन होला ? त्यस्तै हेटौंडाका देवि प्रसाद कोइरालाले देखे । उनले वृद्धाआश्रमको परिकल्पना गरे । उनले आश्रम बनाउन उपयुक्त स्थान पनि खोज्दै थिए ।
त्यसको लागि सप्ताह लगाउने कुरो भयो । यो कुरा २०६३ सालको हो । कोइराला, पौडेलसहितको करिब २४/२५ जनाको टोलीले जम्मा भए चर्तुमासा लगाउने अनि आश्रम खोल्ने । सो टोलीले पौडेललाई अध्यक्ष बनायो ।

त्यही सप्ताहबाट संकलन भएको रकमबाट ओम वृद्धाआश्रम सुरुवात गरिएको थियो । त्यसपछि आजिवन सदस्य बनाएर रकम संकलन गर्न थाल्यो ।
सप्ताह लगाएको स्थान जिकै जग्गा खरिद गरि भवन निर्माणपछि २०६४ सालमा ओम वृद्धाआश्रमले नियमित वृद्धवृद्धा आमाबुवालाई आश्रय दिदै आएको छ ।
बन समितिको अध्यक्ष १० बर्ष, सिद्धहस्त फायरफाइटर
२०५७ सालमा नेपाली सेनाबाट अवकाश पाएर हेटौंडास्थित चौकीटोलमा बसोबास थाले उनले । सामाजिक काम गर्न रुचाउने पौडेललाई २०५८ मा शुन्दर सामुदायिक बनको अध्यक्ष बन्न प्रस्ताब आयो । उनले प्रस्ताव सहजै स्वीकारे ।
उनको दशबर्षे कार्यकालमा बनसंरक्षण र प्रर्वदनमा जोड दिएर काम गरे । त्यतिबेला बनमा धेरै डढेलो लाग्ने गरेको थियो । २०६४ सालमा जर्मनीको फ्राइबर्ग विश्वविद्यालबाट स्नातकोस्तर उत्तीर्ण डढेलो विशेषज्ञ सुन्दर शर्मा र जर्मन अग्नि नियन्त्रण विशेषज्ञ डानियल क्रोजलाई हेटौंडामा ल्याएर डढेलो नियन्त्रण तालिम सञ्चालन गरेका थिए पौडेलले ।
उक्त तालिम पौडेलले पनि लिए । बनजंगलमा डढेलो लागेको जानकारी पाउनसाथ नियन्त्रणको लागि उनी पुग्थे । त्यतिबेला आगोसँग जुध्ने उनको कलाले नेपालकै राम्रो फायरफाइटर (अग्नी नियन्त्रक) को परिचय बनाएको थियो ।
आफुसँग भएको क्षमतालाई आफैंमा सीमित बनाएनन् । उनले नेपालका अधिकांश जिल्लामा बन डढेलो नियन्त्रण तालिम प्रदान गरे । छिमेकी बारा, पर्सा, रौहतहट, डडेलधुरा, कपिलबस्तु, रसुवा लगायत करिब तीन दर्जन बढी जिल्लामा तालिम प्रदान गर्न पुगे ।
त्यस्तै सामुदायिक, कबुलियती र राष्ट्रिय बनदेखि राष्ट्रिय निकुञ्जसम्मका मानिसलाई पनि तालिम दिएका थिए ।
तिरतिरे धारो बनाउने योजना पौडेलकै
बाटोमा हिड्ने बटुवालाई तिर्खा नलाग्ने कुरै भएन । बटुवा बाटैमा धारो भए, सुनमा सुगन्ध । त्यस्तै त्रिभुवन राजपथको छेउमै छ हेटौंडाको तिरतिरे धारो ।
त्रिभुवन राजपथ हुँदै जाने हरेक यात्रुलाई तिरतिर धारोको बारेमा जानकार छन्, हेटौंडावासीलाई थाहा नहुने कुरै भएन । मकवानपुरका जिल्लाकै चर्चित धारोको रुपमा परिचित छ राणकालीन तिरतिरे धारो ।

उक्त धारो पौडेल अध्यक्ष बनेको सुन्दर सामुदायिक बनको १० हजार लगानीमा २०५८ सालमा पुननिर्माण सुरु गरिएको थियो । धारो निर्माण समितिको अध्यक्ष विश्वनाथ ढकाल थिए । ढकाल र पौडेलको अग्रसरतामा तात्कालीन हेटौंडा नगरपालिका र स्थानीयको सहयोगमा कुल १ लाख १५ हजारमा तिरतिरे धारो पुननिर्माण गरिएको हो ।
नेपाली सेनामा ३१ बर्ष
२००८ सालमा रामेछाप जिल्लामा जन्मेका पौडेलका बाबुआमा छोरा शिक्षक भएको हेर्न चाहन्थे । शिक्षक बने तीन बर्षका लागि । निरन्तरता भने दिएनन् ।
उनी २०२६ सालमा नेपाली सेनामा भर्ती भए । त्यहाँ ३१ बर्ष विताए । सेनामा रहँदा विभिन्न देशको भ्रमण गरेका उनले २०५७ सालमा अवकाश पाएका थिए ।
उपनाम अध्यक्ष
पौडेलले सेनाबाट अवकाश लिएको २२ बर्ष भन्दा बढी समय समाज निर्माणका लागि विताईसकेका छन् । त्यो समय सुन्दर सामुदायिक बन समिति र ओम वृद्धाश्रमको अध्यक्ष भएर काम गरे ।
उनी अहिले अध्यक्ष पदमा छैनन् । नेतृत्व हस्तान्तरण गरे । तर, पनि उनले अध्यक्ष उपनाम पाएका छन् । अझै कतिपय स्थानीयले आफुलाई अध्यक्ष नै भनेर बोलाउने गरेको उनी बताउँछन् ।
जीवन रहुन्जेलसम्म सामाजिक काम
पौडेल उमेरले ७२ बसन्त पार गरिसकेछन् । उनको दिन अध्ययन र सामाजिक गन्थनमन्थन गर्दै बित्छ । अझै पनि मनमष्तिकमा निस्वार्थ समाजिक कर्मको भाव उत्तिकै छ । उमेरले ज्यान बुढो भएपनि जोस जाँगर पनि उस्तै । जीवन रहेसम्म समाजको कर्म गर्न नछोड्ने पौडेल बताउँछन् ।
उनले नेतृत्व सम्हालेको आश्रम र बन समिति बाहेक अरु पनि छन् । उनी अहिले कुनै पनि सामाजिक संस्थाको नेतृत्वमा छैनन् । पौडेलले आश्रमको अध्यक्ष पद हस्तान्तरण गरेको चार महिना भयो । ‘मैले पद मात्रै छाडेको हुँ, समाजसेवा होइन्,’ उनले भने, मेरो ज्यानले जहिलेसम्म साथ दिन्छ, त्यतिबेलासम्म सामाजिक हितमा लाग्ने छु ।’

आफुले विताएको दिन, गरेको संर्घष, काम गर्दा खुट्टा थामी दिने, अनि तानिदिने । पौडेललाई हिजो जस्तै लाग्छ, २०५७ सालबाट थालेको सामाजिक सेवा । उनी अहिले पनि प्रत्येक दिन आश्रममा पुग्छन् । बुढा बुवाआमाको आशीर्वाद लिन्छन् । उनीहरुको स्वास्थ्य अवस्था र खानपानको बारेमा जानकारी लिन्छन् ।
आश्रम सुरुवात गर्दाको संघर्षलाई सम्झदै पौडेल भन्छन्,‘पहिलो आश्रम चलाउन माग्दै हिड्नु पर्ने अवस्था थियो, अहिले त्यस्तो छैन, दाताहरुको सहयोगबाटै आश्रम चलाउन पुग्छ ।’
हेटौंडा उपमहानगरपालिकाले पछिल्लो दुई आर्थिक बर्षदेखि नीति तथा कार्यक्रमबाट ५ देखि ८ लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउँदै आएको पौडेलले जानकारी दिए । हेटौंडाका बैंक तथा वित्तीय संस्था, सामाजिक संघसंस्था, संगठन, व्यक्तिहरुबाट नियमित जस्तो सहयोग प्राप्त हुने गरेको उनको भनाई छ ।
यसो भन्छन् पौडेलका सहकर्मी र स्थानीय
ओमवृद्धा आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ पौडेलको आश्रम मात्र नभई चौकी टोलको हरेक विकास निर्माणको काम अतुलनिय योगदान रहेको बताउँछन् । ‘उहाँ समाज परिवर्तनका संवाहक हुन्नुहुन्छ, समाजसेवा कसरी गर्नुपर्छ ? उहाँ प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनले भने ।
आश्रमका सचिव नारायण प्रसाद कडेल पौडेललाई समाजसेवाका कुशल नेतृत्वकर्ता रुपमा लिन्छन् । पौडेलले गरेका अधिकांश सामाजिक योगदानको साँक्षी बनेका कडेल भन्छन्,‘उहाँले चौकी टोल क्षेत्रको विकासको लागि नगरेको केही पनि छैन, उहाँले नेतृत्व गर्नुभएको संघसंस्थाले उदाहरणीय काम गरेको छ ।’
कडेलका अुनसार आश्रमको अक्षयकोषमा २५ लाख रकम छ । पौडेलको समाजिक कामबाट प्रभावित भएर समाजसेवामा लगेको तिमल्सिना बताउँछन् ।