चितवन – नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा केही यात्रुहरु बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बसलाई पहिरोले बगाउँदा त्रिशूलीमा खसेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । प्रारम्भिक जानकारी अनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेको प्रहरीको अनुमान छ । घटनास्थलमा उद्धार कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध भएको छ । पहिरो पन्छाउने कार्यको लागि लोडर मेसिन परिचालन गरिएको र जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिङ सडक आयोजनाले जनाएको छ।
निरन्तर वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएकोले सडक सुचारु गराउने कार्यमा बाधा उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडकको अवस्थालाई मध्यनजर गर्दै बैकल्पिक मार्गको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छन् ।