प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

२०७९ पौष २०, बुधबार १४:०९ बजे

हेटौंडा – बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार, पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ।

यसैगरी, उक्त दिनको २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।

यसैगरी, सोही दिनको अपरान्ह ४ बजेभित्र सभामुख र उपसभामुख पदको उम्मेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए।

सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

बागमती प्रदेश सभामा अहिले नेपाली कांग्रेसको ३७, नेकपा ९एमाले०का २७, नेकपा ९माओवादी केन्द्र० का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा ९एकीकृत समाजवादी०का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना प्रदेश सभाका सदस्य छन्।